छायाँकनमा अनमोल केसीको ‘छड्के २’


काठमाडौं । अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘छड्के २’ को छायांकन सुरु गरिएको छ । शुक्रबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चितवनको भरतपुरमा शुभ मुहूर्त गर्दै चलचित्रको छायांकन पनि सुरु गरिएको हो । ६० दिनको छायांकन सेड्युल रहेको फिल्म चितवनसँगै मुस्ताङमा पनि छायांकन हुनेछ । निगम श्रेष्ठको लेखन एवं निर्देशन रहने फिल्ममा अनमोलको अलवा रोविन तामाङ र कमलमणि नेपालको पनि मुख्य भूमिका रहनेछ ।

निर्माण टिमले अभिनेत्रीको नाम भने अहिलेसम्म गोप्य राखेको छ । चलचित्रमा अनमोल ग्याङ्गस्टार भूमिकामा देखिनेछन् । काभ्रे फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मसँग मेधा फिल्मस् र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । फिल्मको निर्मातामा प्रशान्त गिरी र लक्ष्मण काफ्ले छन् ।

‘छड्के’ ६ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, नम्रता श्रेष्ठलगायतको अभिनय थियो ।