आर्यनको ’सायरा’ लाई बलिउड निर्देशक विशाल देसाईले निर्देशन गर्ने


काठमाडौँ। अभिनेता आर्यन सिग्देल अनुबन्धित भएको नयाँ चलचित्रलाई बलिउडका निर्देशक विशाल देसाई निर्देशन गर्ने भएका छन् । निर्माता रघु परियार र बलिउड निर्देशक विशाल बीच सम्झौता भएको छ । मुम्बईमा दुई बीच नेपाली फिल्म ’सायरा’मा सहकार्य गर्ने सम्झौता भएको हो । निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.लीको तर्फबाट सम्झौता गर्दै निर्माता रघुले आउँदो दसैँ ताका चलचित्र छायांकन हुने बताए । चलचित्र ‘सायरा’ को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत नेपालमा हुनेछ ।

’हाम्रो फिल्म गर्न उहाँ तयार हुनु भयो । बलिउडको उहाँको अनुभवले नेपाली फिल्मको मेकिङ उत्कृष्ट हुने विश्वास छ । उहाँले हामीलाई गर्नुको ट्रष्टले निकै खुसी मिलेको छ’ मुम्बईमा रहेका निर्माता रघुले भने । निर्देशक देसाईले पनि नेपाली फिल्म गर्न पाउँदा उत्साहित भएको बताए । ’नेपाल र भारतको सम्बन्ध निकै प्रगाढ छ । सांस्कृतिक दृष्टिकोणले पनि हामी नजिक छौँ । नेपाली फिल्मको अफर आएकोले यसपटक गर्न रेडी भएको हुँ’ निर्देशक देसाईले भने । उनी अहिलेसम्म नेपाल नआएता पनि नेपाली जीवनशैलीसँग परिचित रहेको प्रतिक्रिया दिए ।

निर्देशक देसाईले वीरगति र ढोलकी नामक फिल्म निर्देशन गरिसकेका छन् । यस्तै उनले ’कामिनी दामिनी’ नामका टिभी सिरियल समेत निर्देशन गरे । उनले धेरै फिल्ममा अभिनय समेत गरेका छन् । उनले अमर प्रेम मार्फत अभिनय यात्रा सन् १९७२ मा सुरु गरेका थिए ।