‘कृष्णलीला’ टिमको चितवनमा कन्सर्ट सम्पन्न, पुष्प र श्रद्धालाई हेर्नेको भीड



काठमाडौं। कृष्णजन्माष्टमी अर्थात भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षीत चलचित्र ‘कृष्णलीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ । सिजी ल्याण्डमार्क सपिङ सेन्टरमा आयोजीत कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्णलीला’ का शीर्ष अभिनेता पुष्प खड्का,अभिनेत्री श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,निर्देशक दीपक ओली,गायक रबि ओड,गायिका सुनीता कार्की र कोरियोग्राफर माइकल चन्द मंगलबारै चितवन पुगेका थिए । कन्सर्टमा पुष्प र श्रद्धालाई भीडबाट जोगाउन सेक्युरिटीलाई हम्मे हम्मे परेको थियो । हजारौं दर्शकले पुष्प,श्रद्धालगायत गायक गायिकालाई घेरेका थिए ।

ओएसीस एजुकेशनको प्रस्तुति तथा माइकल चन्दको इभेन्ट निर्देशन रहेको प्रमोशन टुरको कन्सर्टमा अभिनेता पुष्प र अभिनेत्री श्रद्धाले दर्शकहरुलाई सम्बोधन गर्दै ‘कृष्ण लीला’ को ‘अटल बाचा गरें’ र ‘त्यो कथामा एउटा राजा’ गीतमा डान्स गरेका थिए । त्यसैगरी बुद्धि तामाङ र रबिन्द्र झाले दर्शकहरुलाई ‘कृष्ण लीला’ हेर्न आग्रह गर्दै रमाइलो प्रस्तुति दिएका थिए । गायक रबि र गायिका सुनीताले ‘अटल बाच गरें’ गाउदा दर्शकहरु निकै हौसिएर ‘वान्स मोर’ भन्दै नारा लगाएका थिए । चितवनबासी दर्शक श्रोताबाट पाएको माया,सम्मान र हौसलाले आफूहरुलाई निकै खुशी लागेको अभिनेता पुष्पले बताए । उनले आफू जहिल्यै चितवन आउदा पनि औधी माया पाइरहेको स्मरण गरे । निर्देशक दीपकले दर्शकलाई ‘कृष्ण लीला’ हेरेर प्रतिक्रिया दिन आग्रह गरे भने अभिनेत्री श्रद्धाले प्रदर्शनको हिसावले यो नै आफ्नो पहिलो फिल्म भएकाले भरपुर माया र साथको अपेक्षा राखेको बताइन् । साँझ पाँच बजे सुरु भएको कन्सर्टमा ‘कृष्णलीला’ का कलाकार तथा निर्देशकसँग फोटो र सेल्फी खिच्ने काम अबेर रातिसम्मै चलेको थियो ।

द पोजेटिभ इभेन्ट्सले ब्यबस्थापन गरेको कन्सर्टको स्पोन्सरमा रेइवा इन्टरनेशनल एकेडेमी पर्सा,अकीवा वाइन,सिजी ल्याण्डमार्क,फोकस इन्टरटेन्मेन्ट तथा हस्पिटालिटी पार्टनरमा जंगल जक्सन,लेक २० थाउजेन्ड फार्म एण्ड रिट्रिटलगायत थिए । आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहेको चलचित्रको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

लक्ष्मण सुवेदी लिखित चलचित्रमा पुष्प,श्रद्धा,बुद्धि,रबिन्द्रका साथमा हिउँवाला गौतम,भावना गुरुङ,नवीन रेग्मी तथा बालकलाकार आयुष गुरागाईँले अभिनय गरेका छन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता तथा पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका गीतमा रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी छ । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहेको चलचित्रमा श्री श्रेष्ठको द्वन्द छ ।