‘मिस युनिभर्स नेपाल’मा विवाहित तथा गर्भवती महिलाले पनि प्रतिस्पर्धा गर्न पाउने



काठमाडौँ। विवाहित, गर्भवती, आमा भइसकेका तथा सम्बन्ध विच्छेद गरिसकेका महिलाहरूले ‘मिस युनिभर्स नेपाल’मा सहभागिता जनाउन पाउने भएका छन्। काठमाडौंको याक एन्ड यति होटलमा आइतबार आयोजना गरिएको कार्यक्रममा मिस युनिभर्समा अर्काे वर्षदेखि उक्त नियम लागु हुने राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठले बताइन्।

‘मैले सधैं मिस युनिभर्सलाई मन पराउने एउटा कारण समावेशीता हो। आउँदो वर्षदेखि लागु हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरूका लागि सुनौलो अवसर हुनेछ,’ उनले भनिन्।

यसअघि पारलैंगिक समुदायका व्यक्तिले पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका थिए। अगस्ट २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन्। उक्त कार्यक्रममा २० जना प्रतिस्पर्धीहरू रातो कार्पेटमा हिँडेका थिए।

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सिधै प्रतिस्पर्धा गर्न पाउनेछन्।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइएको छ। यस्तै विजेताले ७१ औं श्रृङ्खलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन्।

यसपटक सात वटा उपशीर्षक पुरस्कार दिइनेछ। जसमा मिस इको इन्फिनिटी, मिस लाइफस्टाइल, मिस फ्याबुलस, मिस फेयर्स, मिस आइसिटी, मिस फ्री एण्ड फियरलेस, लूप नेटवर्कको पिपुल च्वाइस अवार्ड छन्।

यस वर्षको ‘मिस युनिभर्स नेपाल’मा विपना अधिकारी, दिक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत, श्रृष्टि हाडा, जस्मिन खड्का, मोनिका चौधरी, अनुअनमोल क्षेत्री, श्रृष्टि तामाङ, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.