‘चरी जेलैमा– २’ : गत वर्षै तयार थियो गीत, गतसाता सुटिङ गरेर भिडियो रिलिज



विष्णु माझीको तीज गीत ‘चरी जेलैमा– २’ लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भएका छन् । स्रोता/दर्शकहरूले त्यति नयाँपन महसूस गर्न नसकेको बताएका छन् । यसवर्ष गत वर्षकै भाका, धूनमा ‘चरी जेलैमा–२’ सार्वजनिक भएको छ । फरक छ त नयाँ लोकेशनमा तयार भएको भिडियो । पात्रहरू उही छन्, ललिता पौडेल र सुन्दरमणि अधिकारी । शब्द, संगीत एवं भिडियो निर्देशन सुन्दरमणिकै छ ।

सोहीकारण केहीले युट्युबमै पनि नयाँपन महसूस गर्न नसकेको प्रतिक्रिया दिएका छन् । कतिपयले सामाजिक सञ्जालमा गीतलाई लिएर विभिन्न प्रतिक्रियाहरू दिइरहेका छन् । विष्णुको स्वरको भने खुलैरै प्रशंसा गरेका छन् । गीतका शब्दहरू मुटुमा छुने खालको रहेको प्रतिक्रियाहरू समेत भेटिन्छन् । कोरियोग्राफर शिव बि.क. भने ‘चरी जेलैमा–२’ गतवर्षको गीतको दोस्रो भाग रहेको बताएका छन् । उनले गीतको अडियो गतवर्ष नै तयार भएको बताउँदै नयाँ लोकेशनमा यसवर्ष भिडियो खिचिएको जानकारी दिएका छन् ।
उनले ‘चरी जेलैमा’को अडियो ४० मिनेटको रहेकोमा गतवर्ष २० मिनेटको अडियोमा भिडियो आएको बताए । उनले भने, ‘गतवर्ष हामीले २० मिनेटको अडियोमा भिडियो तयार पारेका थियौँ । सोही गीतको बाँकी अंशको लागि भिडियो खिचेर ‘चरी जेलैमा–२’ भनेर यो वर्ष ल्याएका हौँ ।’

कोरियोग्राफर बि.क.ले प्रस्ट्याए, ‘यही गीत राम्रो छ । यसवर्ष अर्को तीज गीत नबनाऔँ भनेर भाग २ भनेर ल्याएका हौँ । भाग २ भनेपछि पहिलेकै निरन्तरता त हुने भयो ।’ सोही कारण गतवर्ष र यस वर्षमा प्रस्तुति मात्रै फरक रहेको उनको प्रस्टीकरण छ ।

‘चरी जेलैमा–२’को भिडियो गत साता मात्रै खिचिएको हो । कोरियोग्राफर बिकले दुई दिन लगाएर भिडियो खिचिएको जानकारी दिएका छन् । भिडियोको लोकेशनका विषयमा पनि धेरैले जिज्ञासा राखेका छन् । शिवका अनुसार काठमाडौंको साँखुस्थित शालीनदीको पारिपट्टि रहेको मुक्तिनाथ बाबा आश्रममा भिडियाको नृत्यको भाग खिचिएको हो । गीतको कथाको भाग भने फर्पिङमा खिचिएको हो । नृत्य र कथाको भाग एक/एक दिन खिचिएको उनले जानकारी दिएका छन् । ७० जना कोरसका साथ १ सय बढीको टीमले काम गरेको उनले बताए ।

गतवर्षको ‘चरी जेलैमा’गीतको नृत्यको भाग भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा खिचिएको थियो । त्यसको कथा–भाग भने फर्पिङमै खिचिएको थियो ।
दुईदिन लगाएर सार्वजनिक स्थानमा १ सय हाराहारीको टिममा सुटिङ गर्दा समेत तस्वीरहरु सार्वजनिक भएनन् । विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारी स्वयं सुटिङमा हुने भएकाले उनीबाटै कडाइ हुने गरेको टिमभित्रका सदस्यहरू बताउँछन् ।

तस्वीरहरू खिचेको/नखिचेको चारैतिर निगरानी गर्ने गरिएको उनले बताए । खिच्न खोज्नेहरूलाई हामीले रोक्ने गरिएको छ । आफूले गरेको काम एकैचोटी भिडियोमार्फत आओस् भन्ने सुन्दरमणि (विष्णुका श्रीमान)को चाहाने रहने गरेको ति व्यक्तिले जानकारी दिए ।कसैले तस्वीर तथा भिडियोहरू खिचे पनि गीत रिलिज हुनुअगाडि गोप्य राख्ने गरिएको छ । भिडियो सार्वजनिक भइसकेपछि भने खिचिएका तस्वीरहरू सार्वजनिक गर्न पाउनेछन् ।

धेरै वर्षदेखि सार्वजनिक समारोह, मिडिया, कतै नदेखिएकी विष्णु गुपचुप रुपमा हुने म्युजिक भिडियोको छायांकनमा पुग्छिन् कि ? धन्ने धेरैको जिज्ञासा समेत हुने गरेको छ । यद्यपि, उनी आफ्नो गीतको सुटिङमा समेत जाने गरेकी छैनन् । विष्णुकै गीतमा नृत्य गर्ने कोरसहरुले समेत उनलाई भेटन पाउँदैनन् ।

यतिबेला ‘चरी जेलैमा–२’लाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहँदा गीतले भ्युज भने राम्रो पाइरहेको छ ।