छायाँकार विदुर पाण्डेको हृदयघातका कारण निधन



काठमाडाैं | नेपाली चलचित्र एवं म्युजिक भिडियोका वरिष्ठ छायाँकार एवं फोटोग्राफर विदुर पाण्डेको हृदयघातका कारण निधन भएको छ । बुधवार बिहान गंगालाल अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दियो ।

स्वास्थ्यमा असहज भएपछि उनलाई अस्पताल लगिएको थियो । पाण्डेको पार्थिव शरीरलाई पशुपति आर्यघाट अन्तिम संस्कार गरिएको छ । अन्तिम श्रद्धाञ्जलि दिन बाक्लो संख्यामा चलचित्रकर्मी र आफन्त आर्यघाटमा उपस्थित थिए ।

पाण्डेले थुप्रै नेपाली चलचित्रमा छायाँकारको रूपमा काम गरेका छन् । कागबेनी, स्वर, भूइँमान्छे लगायत उनले छायांकन गरेका चलचित्रहरूछन् ।

‘कागबेनी’लाई पहिलो नेपाली डिजिटल चलचित्र मानिन्छ । टेलिभिजनमा समेत काम गरेका पाण्डेले ‘तिमी आउँछौं भने मेरो दुनियाँ बेग्लै छ’, ‘माया साह्रै महंगो’, ‘थाप न थाप हातैमा’ लगायतका थुप्रै चर्चित गीतको भिडियो छायांकन गरेका छन् । उनको निधनमा चलचित्र एवं सांगीतिक क्षेत्रका थुप्रैले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन् ।