यसवर्षका सबै तीज गीतलाई उछिन्दै ‘झमझम झम्काना’ले पायो करोड भ्युज



काठमाडौं । यसवर्षका सबै तीज गीतलाई उछिन्दै ‘झमझम झम्काना’ले युट्युबमा करोड भ्युज पाएको छ । भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीत एक महिनाअघि सार्वजनिक गरिएको थियो । गीतले सार्वजनिक भएको महिना दिनमै मंगलवार दिउँसो युट्युबमा करोड भ्युज पाएको हो । यो यसवर्ष सार्वजनिकमध्ये करोड क्लबमा पुग्ने एकमात्र तीजलक्षित गीत हो ।

युट्युबमा गीतलाई ८ हजार भन्दा बढी प्रतिक्रियाहरू आएका छन् । १ लाख १५ हजार बढीले लाइक गरेका छन् । यो गीत सार्वजनिक भएको केही दिनपछि एक साताभन्दा लामो समयसम्म युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा स्थान जमाएको थियो । गीत यतिबेला टिकटकमा पनि उत्तिकै हिट छ । लाखौं स्रोताले गीतका टुक्कामा टिकटक बनाएका छन् । बोमबहादुर गाहा मगरको शब्द, गायक भागिरथकै संगीत रहेको गीतमा विनोद बाजुरालीको एरेन्ज छ । प्रकाश भट्टको निर्देशनमा तयार गीतको भिडियोमा गायक भागिरथसँगै मोडल गीता ढुंगानाको अभिनय तथा नृत्य छ ।

गायक, संगीतकार एवं भिडियोका मोडलसमेत रहेका भागिरथ ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले दिएको माया अनपेक्षित भएको बताउँछन् । अहिले तीज गीतलाई यति धेरै रुचाइदिएकोमा भागिरथ खुशी छन् । यसको मुख्य श्रेय स्रोता÷दर्शक भएको भन्दै उनी सम्पूर्ण स्रोता एवं दर्शकलाई धन्यवाद व्यक्त गर्छन् । सन्ध्या कँडेलको प्रस्तुति रहेको ‘झमझम झम्काना’लाई राजेश घिमिरेले छायांकन एवं विष्णु घिमिरेले सम्पादन गरेका हुन् ।