पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड



काठमाडौँ। नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

निर्देशक गणेश पाण्डेको निर्देशनमा बनेको डकुमेन्ट्रीले अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित उक्त फिल्म फेस्टिवलको अन्तिम दिन सोमबार भएको अवार्ड समारोहमा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड जितेको हो ।

निर्देशक पाण्डेले करिब ४ वर्षको छायाँकन र अनुसन्धानबाट ‘सहायक श्रीमान’ तयार भएको बताएका छन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् । यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको निर्देशक पाण्डेले बताए । आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिभलका निर्देशक रिचर्ड टभेरनारोका अनुसार यसपटक ६ सय वटा फिल्मबाट ७० वटा फिल्म प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

जसको निर्माता शारदा गैरे हुन् भने प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशकको रुपमा नृपराज हमाल छन् । यस्तै ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले सिनेमाटोग्राफरको रुपमा काम गरेका हुन् । पाण्डेका अनुसार ‘सहायक श्रीमान’ले अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।