‘छड्के २’ को वर्कशपमा अनमोल केसी



काठमाडौं। नायक अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । तत्काल छायाँकनमा जाने चलचित्र ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् । लभरब्वाईको भूमिका मार्फत दर्शकको प्रिय बनेका अनमोल यसपटक आफ्नो अभिनय क्षमता थप प्रस्ट्याउने तयारीमा छन् ।

लेखक तथा निर्देशक निगम श्रेष्ठले अनमोल स्टारसँगै राम्रो कलाकार पनि भएको बताए । ‘वर्कशपमा क्यारेक्टरलाई जीवन्त बनाउन अनमोलले गरेको मेहनत तारिफ योग्य छ । अनमोल क्यारेक्टरलाई लिएर गम्भीर छन्’ निगमले भने । निर्माता मध्यका एक प्रशान्त गिरी पनि वर्कशपमा आफनो टीम भेट्न केहि दिन अघि चितवन पुगेका छन्।

चलचित्रमा गिरीसँगै लक्ष्मण काफ्ले निर्माता रहेका छन् । काभ्रे फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रको छायाँकन सेड्युल ६० दिन राखिएको छ । ‘हामीले साउन २५ बाटै छायांकन गर्ने तयारी गरेता पनि मौसम अनुकुल नहुँदा एक साता ढिला गर्दै भदौ १ गतेबाट छायांकन गर्नेछौँ । त्यहि समयमा हामी बाँकी कलाकार चिनाउने छौँ’ निर्माता गिरीले भने । चलचित्रमा अनमोलसँगै रविन तामाङ , कमल मणि नेपाल लगायतको अभिनय रहने छ ।