‘करोड क्लब’को नजिक ‘झमझम झम्काना’, गायक भन्छन् – यति माया पाउँछु सोँचेको थिइन्



काठमाडौं । यस वर्ष तीजलक्षित दर्जनौं गीत सार्वजनिक भएका छन् । त्यसमध्ये चर्चा केही सीमित गीतले मात्र पाएका छन् । त्यही सीमित मध्येको सबैभन्दा चर्चित गीत बनेको छ, ‘झमझम झम्काना’ । केही हप्तायता भागिरथ चलाउने र सुनिता बुढा क्षेत्रीको स्वर रहेको यो गीत टिकटकमा निकै छाएको छ । गीतका टुक्कामा लाखौं टिकटक बनेका छन् ।
१ हप्ताभन्दा लामो समयसम्म यूट्युब ट्रेन्डिङको १ नम्बरमा रहेको गीत यतिबेला भने करोड क्लबको नजिक–नजिक पुगिसकेको छ । सम्भवतः १–२ दिनमै गीतले यूट्युबमा करोड भ्युज पाउनेछ ।

बोमबहादुर गाहा मगरको शब्द, भागिरथको संगीत, बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भ्युज शुरूआतमा भने निकै कम थियो । प्रकाश भट्टको कोरियोग्राफी एवं निर्देशन, गायक भागिरथ स्वयं र मोडल गीता ढुंगानाको अभिनय रहेको भिडियोले सार्वजनिक भएको २१ घण्टामा १७ हजार मात्रै भ्युज पाएको थियो । १ दिन २ दिन बित्यो, गीतको भ्युजको गति ‘स्लो’ नै थियो । बिस्तारै गीतका टुक्काहरूमा टिकटक बनाउनेहरू बढ्न थाले । त्यसपछि यूट्युबमा भ्युजको गति पनि बढ्न थालेको भागिरथ बताउँछन् । ‘टिकटकमा चल्न थालेपछि चौथौ/पाँचौं दिनबाट बल्ल भ्युजको गति बढेको हो,’ उनले भने, ‘जुन गति आजसम्म कम भएको छैन, बरु झन् बढिरहेको छ ।’ अहिले गीतको भ्युज ९३ लाख पुगेको छ ।

गीतले पाएको चर्चालाई लिएर यतिबेला यसका संगीतकार, गायक एवं मोडल समेत रहेका भागिरथ चलाउने निकै खुशी छन् । उनले भने, ‘एकदमै रमाइलो, खुशी लागिरहेको छ । सबैले माया गरिदिनुभएको छ ।’

उसो त हरेक गीतलाई लिएर कलाकारमा एक किसिमको अपेक्षा हुने उनको भनाइ छ तर ‘झमझम झम्काना’लाई स्रोता–दर्शकले यतिबिध्न रुचाउँलान् भन्ने चाहिँ सोचेका थिएनन् भागिरथले । ‘गत वर्षको मेरो गीतभन्दा बढी गइदेओस् भन्ने थियो तर त्योभन्दा धेरै नै बढी चर्चित बन्यो,’ उनी खुशी सुनिए ।
उनी आफ्नो गीतको सन्दर्भमा स्रोतादर्शकलाई यूट्युबसम्म पु¥याउने माध्यम टिकटक बनिदिएको बताउँछन् । ‘हो यो गीत चल्नमा टिकटकको महत्त्वपूर्ण भूमिका छ,’ उनको स्वीकारोक्ति छ ।

आफ्नो गीत पृथकपनको कारण चलेको हुनसक्ने भागिरथको अनुमान छ ।

राजेश घिमिरेको छायाँकन रहेको भिडियो विष्णु शर्माको सम्पादनपछि गायक भागिरथकै ‘भागिरथ चलाउने’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।