‘द भ्वाइस अफ नेपाल’ कोचमा राजेश पायल र प्रविशाको प्रवेश



काठमाडौं। गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी शोको कोच टिम चिनाइयो । साथै प्रायोजकहरु बिच सम्झौता गरियो । आगामी महिनादेखि प्रसारण तयारी रहेको चौथो सिजनका लागी दुई कोच परिवर्तन गरिएको छ । चौथो सिजनका लागी राजेशपायल राई र प्रविशा अधिकारी भित्रिनुभएको छ । साथै प्रमोद खरेल र राजु लामाले कोचकै रुपमा निरन्तरता पाउनुभएको छ । तीन सिजनसम्म कोच रहनु भएका वरिष्ठ गायक दीप श्रेष्ठले यो सिजनमा रहनुहुने छैन । शो हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुनेछ ।

डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका १२० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन् । ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले बताए । कोच राजेश पायल र प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा उत्साहित भएको बताउनु भयो । राजेशले यसअघि नै बिभिन्न मिडिया तथा दर्शकबाट आफूलाई द भ्वाइसमा कोचको रुपमा हेर्न चाहानुभएको र त्यो चाहाना पुरा भएको बताए ।

यसैबीच, पत्रकार सम्मेलनमा चौथो सिजनका मुख्य प्रायोजकसँग सम्झौता गरियो । भ्वाइस अफ नेपाल किड्स, हिमालय रोडिज र डान्सिङ स्टार्स नेपाल प्रसारण गरिरहेको हिमालय टेलिभिजनले चाँडै बिजनेस रियालिटी शो ‘सार्क ट्याङ्क’, नेपाल्स नेक्स्ट टप मोडल र मौलिक रियालिटी शो ‘लोकस्टार’ प्रसारण गर्ने भएको छ । हिमालय टीभीका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुने गरी कार्यक्रम निर्माण अगाडि बढ्ने बताए ।