‘कौसी क्वीन-२०७९’ का लागि आवेदन खुल्यो



काठमाडौं । तेस्रो कौसी क्वीन-२०७९ प्रतियोगिताका लागि आवेदन खुला भएको छ । कौसी खेती प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक महिलाले आफूले कौसी खेती गरिरहेको परिचयात्मक भिडियो पठाउनुपर्ने आयोजक हलोखबर डटकमले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहनेले आगामी भदौ १० गतेभित्र १० मिनेटसम्मको भिडियो र १० वटा फोटो पठाउनुपर्नेछ । यसरी पठाएका भिडियो र फोटोमा भदौ ११ गतेदेखि २५ गतेसम्म हलोखबर डटकमको फेसबुक पेजमा राखिनेछ । त्यसमध्ये लाइक, कमेन्ट, सेयर र ट्यागबाट ५० प्रतिशत र नेपालस्थित इजरायली राजदूत खनान गदारसहितको निर्णायक मण्डलले दिने ५० प्रतिशत अंकभारको आधारमा विजेता चयन गरिने संस्थाका अध्यक्ष मनोज श्रेष्ठले जानकारी दिए ।हलोखबर डटकमको इमेल र मोबाइल नम्बर ९८०१०३०३०० मा सम्पर्क गरेर भिडियो र तस्वीर पठाउन सकिने जनाइएको छ ।

विजेताले छतमा राख्न मिल्ने जीआई पाइप प्रयोग गरी तयार गरिएको एक लाख ५० हजार रुपैयाँ बराबरको प्लाष्टिक निर्माण गरिदिन श्रेष्ठले बताए । यस्तै प्रतियोगिताको फस्ट रनरअपले एक लाख, सेकेन्ड रनरअपले ७५ हजार र थर्ड रनरअपले ५० हजार रुपैयाँ बराबरको कौसी ग्रीन हाउस निर्माण गरिदिने उनले बताए ।