निशा घिमिरे स्मृति पुरस्कार पवित्रा र उषालाई



काठमाडौं। निशा घिमिरे स्मृति कोषले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री पवित्रा आचार्य तथा मोडल उषा उप्रेतीलाई प्रदान गर्ने भएको छ ।कोषको गत शनिवार बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार आचार्य तथा उप्रेतीलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ तथा सम्मान पत्र रहेको छ ।

कोषका संयोजक दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको उक्त बैठकले नर्भिक अस्पतालका मेघा चौधरी, सञ्चारकर्मी प्रकाश सुवेदी तथा नवजीवन परोपकार समाजलाई विशेष सम्मान अर्पण गर्ने पनि निर्णय गरेको छ । केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री तथा मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निशुल्क उपचार भएको थियो । करिव ६ महिनाको उपचारपछि उपचाररत अवस्थामा नै अभिनेत्री घिमिरेको गत वर्षको भदौ १६ गते निधन भएको थियो ।

निशा घिमिरे उपचाररत अवस्थामा रहेको बेला देश तथा विदेशमा रहेका शुभेच्छुक, सहृदयी दाताहरुले निशाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए ।

गत वर्ष नै दिवंगत अभिनेत्री घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा एउटा संरक्षण कोष गठन गरिएको थियो ।

शुभेच्छुक दाता र सञ्चारकर्मी सुवेदीको सक्रियतामा कोषमा जम्मा हुन आएको रकमलाई निशा घिमिरे दिवांगत भएपछि अक्षय कोषमा राखि प्रत्येक वर्ष दुई जना मोडल तथा अभिनेत्रीलाई निशा घिमिरे स्मृति पुरस्कार दिने निर्णय भए अनुसार यस वर्षको पुरस्कार समर्पण गर्ने निर्णय गरिएको हो ।

निशा घिमिरे स्मृति कोषमा दुर्गानाथ दाहाल, मोहन निरौला तथा दिवंगत अभिनेत्री घिमिरेकी दिदी उषा घिमिरे रहेका छन् ।

उक्त पुरस्कार र सम्मान भदौ १६ गते एउटा समारोहको आयोजना गरि समर्पण गर्ने निर्णय भएको निशा घिमिरे स्मृति कोषका सदस्य सचिव मोहन निरौलाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.