पहिलो फिल्म ‘परदेशी २’ नआउँदै प्रकाशलाई अन्य फिल्महरुमा अफर


                         भन्छन् – पहिले ‘परदेशी २’ आओस् अनि निर्णय लिउँला


काठमाडौं । गायक प्रकाश सपूतको परिचय अब सर्जक र गायक मात्र रहेन । उनको परिचयमा अभिनेता पनि थपिएको छ । उनको पहिलो चलचित्र ‘परदेशी २’ यही दशैंमा प्रदर्शनमा आउँदैछ । आफ्नो पहिलो चलचित्र प्रदर्शन मिति नजिकिँदै जाँदा उनी दंग छन् । किनकी, चलचित्रको अभिनेता बन्ने उनको बाल्यकालीन सपना हो । निर्माण टिमले चलचित्रको प्रचारप्रसार शुरू गरिसकेको छ । केही साताअघि ‘टिजर’ ल्याएको टिमले गत सोमबार मात्रै चलचित्रमा समावेश गीत ‘के वर मागी फक्र्यौ’ सार्वजनिक गरेको छ ।

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेता प्रकाशले आफू ‘परदेशी २’ रिलिजको व्यग्र प्रतिक्षामा रहेको बताए । उनले आफूलाई धेरै चलचित्रबाट अफरहरू आइरहेको पनि खुलासा गरेका छन् । ‘यो वर्ष पनि धेरै चलचित्रको अफर पाएको छु । अहिले पनि मेरो गाडीमा हेर्ने हो भने २ वटा स्क्रिप्ट छ । राम्रो टिमको स्क्रिप्ट हो’ उनले भने । उनले ‘परदेशी २’ प्रदर्शनमा आएपछि मात्रै अभिनयको सन्दर्भमा निर्णय लिने बताएका छन् । ‘दर्शकले चलचित्रको नायकको रूपमा वा हिरोका रूपमा कत्तिको स्वीकार्नुहुन्छ त्यसमा निर्भर रहन्छ’ उनले अगाडि भने, ‘यो मेरो लागि एकदमै नयाँ बाटो हो । मेरो पहिलो चलचित्र भएको हुनाले सर्वप्रथम यसलाई नै प्राथमिकता दिन चाहान्छु ।’ दर्शकले चलचित्रको अभिनेताको रूपमा स्वीकारे अर्को वर्ष अन्य चलचित्रमा पनि देख्न पाउने बताए ।

गीत रिलिज कार्यक्रममा निर्देशक नारायण रायमाझी, अभिनेत्री केकी अधिकारी र अभिनेता प्रकाश सपूत

प्रकाशले दशैंसम्म नयाँ गीत पनि नल्याउने भएका छन् । आफ्नो पहिलो चलचित्र भएका कारण केही समय यसमै केन्द्रित हुने उनले बताए । उनले यसवर्ष तीज गीत पनि ल्याउने छैनन् । गतवर्ष उनको ‘कुरा बुझ्न पर्च’ बोलको तीज गीतले बजार तताएको थियो । गीत रिलिज कार्यक्रममा उनले भने, ‘मेरो सिर्जनात्मक समय ऊर्जा, र तनमन चलचित्र परदेशी २ मा लगाउनेछु ।’

नारायण रायमाझी निर्देशित ‘परदेशी २’मा प्रकाशसँगै केकी अधिकारी, वर्षा शिवाकोटी, दीलीप रायमाझी, प्रशान्त तामाङलगायतको मुख्य भूमिका छ । राजेश बंशल र नारायण रायमाझीको लगानी रहेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् ।