खगेन्द्रको ‘पानीफोटो’ आजदेखि प्रदर्शनमा



काठमाडौं । नाटयकर्मी तथा अभिनेता खगेन्द्र लामिछानेले निर्देशकका रूपमा डेब्यू गरेको चलचित्र ‘पानीफोटो’ आज (शुक्रबार)देखि देशब्यापी प्रदर्शनमा आएको छ । लामिछानेले एक दशक अगाडि गुरुकूलमा मञ्चन भएको आफूद्धारा लिखित चर्चित नाटक ‘पानीफोटो’मा आधारित रहेर यस चलचित्र निर्माण गरेका हुन् ।

नेपालमा चलेको १० वर्षे सशस्त्र जनयुद्धको परिवेशमा मञ्चन भएको नाटकमाथि चलचित्र निर्माण भएको हो । जनयुद्धमा बेपत्ता छोराको पर्खाइमा रहेका दम्पतीको कथा चलचित्रले पेश गर्छ ।

चलचित्रमा लेखक एवं निर्देशक लामिछाने स्वयंसँगै अनुप बराल, मेनुका प्रधान, मलिका महत, रमेश अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतको शीर्ष भूमिका छ । ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपती’ जस्ता चलचित्रहरुबाट दर्शकको मन जितेका खगेन्द्र निर्देशकका रूपमा समेत आउँदै गरेका कारण ‘पानीफोटो’लाई अझ चासोका रूपमा हेरिएको छ ।

चलचित्रले समीक्षात्मक र व्यवसायिक रुपमा समेत सफलता पाउने अपेक्षा गरिएको छ ।

रोजिना सिटौला, रविन्द्र बज्राचार्य चलचित्रका निर्माता हुन् ।
चलचित्रको ट्रेलर :