तेस्रोपटक प्रदर्शन हुँदै ‘चपली हाइट ३’


चलचित्रका अभिनेत्रीद्धय स्वस्तिमा खड्का र सुपुष्पा भट्ट


काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ हलमा पुनः प्रदर्शन हुने भएको छ । साउन २० गते अर्थात अर्को शुक्रबारदेखि चलचित्र तेस्रोपटक प्रदर्शनमा आउन लागेको हो । निर्माण कम्पनी अर्जुन कुमार फिल्मस् प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै चलचित्र पुनः प्रदर्शन हुन लागेको जानकारी दिएको छ ।

गत वर्षको पुष ३० गतेदेखि चलचित्र पहिलोपटक प्रदर्शनमा आएको थियो । तर, त्यसको ३ दिनमै कोरोना भाइरसका कारण लकडाउन हुँदा चलचित्रको प्रदर्शन रोकिन पुगेको थियो । दोस्रो पटक यो चलचित्रलाई फागुन १ गतेदेखि प्रदर्शनमा ल्याइएको थियो । कोरोनाका कारण एक महिना हल बन्द भएर खुलेपछि चलचित्र दोस्रो पटक प्रदर्शनमा आएको थियो । तर, त्यसपटक पनि चलचित्र हेर्न हलमा दर्शकहरु पुगेनन् । निर्माता अर्जुन कुमारले आफूहरुलाई प्रदर्शकहरुले फेरि एउटा मौका दिएको बताउँदै चलचित्रलाई माया गरिदिन आग्रह गरेका छन् ।

निकेश खड्का निर्देशित यो चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, लक्ष्मी बर्देवा लगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको लेखन तथा संवाद रहेको चलचित्र क्राइम, थ्रिलर जनरामा निर्माण भएको हो ।