‘आराध्या’को मनछुने टिजर रिलिज



काठमाडौं । सञ्चारकर्मी समेत रहेका रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म ‘आराध्या’को टिजर सार्वजनिक गरिएको छ । ज्ञवालीले छिट्टै प्रदर्शन हुन लागेको सर्टफिल्मको टिजर युट्युबमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक टिजरमा व्यस्त आमाबाबुबाट समय नपाउँदा सन्तानमा हुने मनोभावलाई प्रस्तुत गरिएको छ । सर्टफिल्मले व्यस्तताका कारण सन्तानप्रति समय नदिने आम अभिभावकको कथा चित्रण गरेको टिजरबाट बुझ्न सकिन्छ ।
फिल्ममा अभिनेता आमिर गौतम, सुरवीना कार्की, द्रोस्टी शाह, सफु बुढाथोकी, श्रृष्टि भुषाल, प्रन्जल पौडेल, नारायण कंडेल लगायतको अभिनय छ ।

‘यो कथा एउटा मात्रै परिवारका होइन, धेरै परिवारमा घटिरहेका घटना हो, जसलाई काल्पनिक रुपमा प्रस्तुत गरिएको हो’ निर्देशक ज्ञवालीले भन्छन्, – ‘सार्वजनिक भएपछि फिल्म हेर्ने दर्शकले आफ्ना बच्चाबच्चीप्रति कतिसम्म हेलचेक्राई गरिएको रहेछ भन्ने महशुस गर्नेछन् ।’ रामजीलाई कथा लेखनमा आर्यन अधिकारीले साथ दिएका छन् ।

सन्जित कुमार शाहको निर्माणमा बनेको सर्ट फिल्मका कार्यकारी निर्माता राजेश कुमार शाह हुन । राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको सर्ट फिल्म ‘आराध्या’मा कलर संयोजन राजेन्द्र मोक्तान, योगेश काजीको ब्याकग्राउण्ड म्युजिक, नहकुल खड्काको सम्पादन छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् । चलचित्रमा समाबेश एउटा बाल गीतमा आरसी शाहले आवाज दिएकी छन् ।

उक्त गीतका गीतकार भने पत्रकार जिवन भण्डारी हुन् । विशाल निरौलाको म्युजिक एरेन्जमा तयार उक्त गीत फिल्म प्रदर्शन भन्दा केही समय अघि सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ । ज्ञवालीले ‘एक लभर’, ‘डार्क मुन’, ‘हनिमुन’, ‘लकडाउन’ लगायतका एक दर्जन सर्ट फिल्म निर्देशन गरिसकेका छन् । ‘आराध्या’ लगत्तै अर्को सर्टफिल्मको तयारीमा लाग्ने ज्ञवाली बताउँछन् ।