भरिभराउ भदौं : एकै महिना ११ नेपाली फिल्म



काठमाडौं । भदौं महिना फिल्म रिलिजका हिसाबले सर्वाधिक ब्यस्त हुने देखिएको छ । ११ वटा नेपाली फिल्मले भदौं महिनाका लागि प्रदर्शन मिति तोकिसकेका छन् । भदौंमा हरेक शुक्रबार दुई वा दुईभन्दा बढी नेपाली फिल्मबीच भीडन्त हुँदैछ ।

वर्ष २०७९ को साउनसम्म नदेखिएको फिल्म रिलिजको प्रतिस्पर्धा भदौंमा देखिने भएको हो । एकै महिनामा यति धेरै फिल्म प्रदर्शन हुने भदौं कोरोना महामारीपछिकै पहिलो महिना हुने देखिएको छ । दर्शक र फिल्मकर्मीले प्रतिक्षा र आशा गरेका फिल्महरु भदौंमा छन् ।

भदौंको पहिलो शुक्रबार हलमा एकसाथ ३ वटा नेपाली फिल्मबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछिका हरेक शुक्रबारका लागि दुई–दुई वटा नेपाली फिल्मले प्रदर्शन तोकेका छन् । भदौं ३ गते ‘माइकल अधिकारी’, ‘कृष्ण लीला’ र ‘प्रेमगञ्ज’ रिलिज हुनेछन् । भदौं १० गते ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनमा आउँदैछन् । भदौं १७ गते ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आउनेछन् भने भदौं २४ गते ‘गोर्खाः बिनिथ द ब्रेभरी’ र ‘ऐना झ्यालको पुलती’ले प्रदर्शन मिति तोकेका छन् । भदौंको अन्तिम शुक्रबार भने ‘लाखे’ र ‘बाबरी’ फिल्मबीच प्रतिस्पर्धा हुनेछ ।

व्यापारका हिसावले भदौं, असोज र कात्तिक महिनालाई राम्रो मानिँदै आएको छ । त्यसैले यी महिना फिल्म रिलिज गर्न निर्माताबीच तछाडमछाड हुने गरेको छ । तर, आशा गरिएका फिल्महरु एकै मितिमा रिलिज हुँदा दर्शकहरु बाँडिन्छन् । त्यसले एकअर्को फिल्मको व्यापारमा स्वभावैले असर गर्छ । अब भदौंमा हरेक शुक्रबार हुने दुई वा दुईभन्दा बढी फिल्मको प्रदर्शनमा कसलाई कति असर हुने हो ? त्यसका लागि भदौं नै कुर्नुको विकल्प छैन् ।