‘प्रकाश’ को ‘स्ट्याण्ड-अप कमेडी टुर’



काठमाडौं। आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रकाश’ ले प्रचारलाई आक्रामक बनाउने उद्देश्यले देशका ६ शहरमा प्रमोशनल कार्यक्रम गर्ने भएको छ । युवा पुस्ताका चर्चित कमेडियनको साथमा हुने प्रमोशनल टुर असार ३१ गते चितवनको भरतपुरबाट शुरुवात गर्दै भाद्र ५ गते काठमाडौंमा आएर टुङ्गिने छ ।

निर्माण पक्षले दिएको जानकारी अनुसार असार ३१ र ३२ गते चितवनको भरतपुर, श्रावण ६ र ७ बुटवल, श्रावण १३ र १४ पोखरा, साउन २० र २१ बिराटनगर, साउन २७ र २८ हेटौडाँमा र भाद्र ३, ४ र ५ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरिनेछ । सिनेमाले प्रमोशनल कार्यक्रमका लागि बटुवा कमेडी र कमेडी टुकटुकसंग सहकार्य गरेको हो ।

‘टेबल मुनीबाट’ नाम दिइएको प्रमोशनल कार्यक्रममा चलचित्रका अभिनेता प्रदिप खड्का सहित अन्य कलाकार र कमेडियन आदर्श मिश्र, आयुस श्रेष्ठ, एलेन जंग राणा, आशिष घिमिरे र पुजन अधिकारी सहभागी हुनेछन् भने काठमाडौंमा अन्य कलाकार पनि सहभागी हुने जनाइएको छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेणु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ । बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा बिकास सुबेदीको लेखेका हुन् ।

चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रको डिजिटल पार्टनर डिएआर मुभिज हो भने आरआर फिल्मका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।