विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालको रेकर्ड, पर्यटनमन्त्री श्रेष्ठद्धारा प्रमाणपत्र हस्तान्तरण



काठमाडौं । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलमा नेपालले रेकर्ड बनाएको छ । सोलुखुम्बु जिल्लाको गोरखसेप एभरेष्ट बेस क्याम्प नजिकको गाउँ ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको होटल बनेको हो । यो होटल ५ हजार १ सय ८० मिटर उचाईमा अवस्थित छ । ‘वर्ल्ड बुक्स रेकर्डस्’ लण्डनबाट विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटलका रुपमा ‘एभरेष्ट इन प्राइभेट लिमिटेड’ले आधिकारिक प्रमाणपत्र प्राप्त गरेको छ ।

सोमबार बेलुका राजधानीमा एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेपाल च्याप्टरका अध्यक्ष सागर कटुवालले होटलका प्रबन्ध निर्देशक पासाङ छिरिङ शेर्पालाई ‘वर्ल्ड बुक्स रकर्डस्’को आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री श्रेष्ठले नेपालको होटलले यस्तो रेकर्ड राख्नु समग्र नेपालीहरुका लागि नै खुशी र गौरवको कुरा भएको बताए । आउँदा दिनमा नेपाललाई चिनाउने अर्को एउटा आधारका रुपमा होटल रहने उनले विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले भने, ‘नेपालको पर्यटन क्षेत्रलाई प्रबद्र्धन गर्नका लागि यो खालको होटलहरुले थप योगदान पुर्याउने विश्वास लिएको छु ।’ उनले कोरोना महामारीका कारण अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा पर्यटन क्षेत्र धेरै प्रभावित बनेको बताउँदै यसलाई कसरी पुनस्थापित गर्ने भन्नेमा मन्त्रालय अहिले छलफलमा रहेको बताए । केही दिन भित्रमा पर्यटन क्षेत्रको व्यवसायलाई पुनस्थापित गर्ने एजेन्डाहरु घोषणा गर्ने समेत मन्त्री श्रेष्ठले उक्त कार्यक्रममा उद्घोष थियो । ‘वर्ल्ड बुक्स रेकर्डस्’का नेपाल प्रतिनिधि कटुवालले यस रेकर्डले विश्वमा नेपालको नाम नौलो तरिकाले पुगेको बताउँदै होटलका प्रबन्ध निर्देशक लगायतलाई बधाई दिए । सन २००४ देखि होटल संचालनमा ल्याएको प्रबन्ध निर्देशक शेर्पाले कार्यक्रममा जानकारी गराए ।

उक्त स्थानमा होटल बनाउनु एकदमै चुनौती रहेपनि निकै दुखका साथ होटल बनाएको उनले स्मरण गरे । ‘त्यहाँ सेतोमा हिँउ र कालोमा ढुंगाबाहेक केहीपनि देखिँदैन् । त्यहाँ केही उब्जाउ पनि हुँदैन् । निकै महंगो शुल्कमा सामान लगेर, निकै दुःख गरेर होटल बनाएको हुँ’ शेर्पाले भने, –‘आज यो एउटा कार्यक्रमले गर्दा मैले आफ्नो जीवनमा केही गरेछु भनेर साह्रै खुशी लागेको छ ।’उक्त कार्यक्रममा रेकर्ड होल्डर निर्देशक तथा संचारकर्मी फुर्वा शेर्पा,गायक निर्णय श्रेष्ठ,मिलन गुरुङ,अजय अधिकारी सुशील,फोटोग्राफर हरि गोपाल प्रधान लगाएत थुप्रैको उपस्थिति रहेको थियो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.