लघु चलचित्र प्रतिस्पर्धा गर्दै नेपाल नेटवर्क टेलिभिजन, निर्णायकमा सुनिल, दीपेन्द्र र पूजा



काठमाडौं । दर्शकलाई मनोरञ्जनका साथै नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले लघु चलचित्र प्रतिस्पर्धा गरिने भएको छ । नेपाल नेटवर्क टेलिभिजनले आयोजना लागेको कार्यक्रमको नाम ‘एनएनटिभी सर्टस्– मेरो कथा, मेरो सिनेमा’ राखिएको छ ।

अभिनेता सुनिल थापा, निर्देशक दीपेन्द्र के. खनाल र अभिनेत्री पूजा शर्मा निर्णायक रहने प्रतिस्पर्धामा प्रथम हुनेलाई २ लाख रुपैयाँसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक नेपाल नेटवर्क टेलिभिजनले कार्यक्रमको घोषणासँगै स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) सहित आवेदन आह्वान गरेको हो ।

प्रतिस्पर्धामा सहभागीताको लागि लघुचलचित्र निर्माण गर्न चाहाने व्यक्ति वा समूहले आफ्नो स्क्रिप्टको संक्षिप्त स्वरुप (कथासार) अनलाइन www.nntvshorts.com मार्फत वा कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्नेछन् । उक्त स्क्रिप्ट छनौट भईसकेपछि नेपाल नेटवर्क टेलिभिजनले निर्माण अनुमति प्रदान गर्नेछ र अनुमति प्राप्त गर्ने व्यक्ति वा समूहले प्रतिस्पर्धामा भाग लिन पाउनेछन् । प्रतिस्पर्धामा द्धितिय पुरस्कार १ लाख ५० हजार रुपैँया, तृतिय पुरस्कार ५० हजारसँगै ट्रफी र प्रमाणपत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिईयो । उत्कृष्ट १० लाई नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र समेत प्रदान गरिनेछ ।

लघुचलचित्रको समय १२ देखि २४ मिनेटसम्म हुनुपर्ने आयोजकले जनाएको छ । साउन २० गतेसम्म स्क्रिप्ट दर्ताको समय राखिएको बताउँदै साउन २५ गते स्क्रिप्ट छनौट तथा निर्माण घोषणा गरिने आयोजकको भनाई छ । भदौं २६ गतेदेखि चलचित्र मूल्यांकन सुरु हुनेछ । नेपाल नेटवर्क टेलिभिजनबाट असोज १ गतेदेखि हरेक दिन कार्यक्रम प्रशारण हुनेछ ।

उत्कृष्ट पाँच लघुचलचित्रकर्मीहरुलाई डीएआर मुभिजबाट निर्माण हुने चलचित्रहरुमा तथा नेपाल नेटवर्क टेलिभिजनबाट निर्माण हुने टेलिचलचित्रहरुमा प्राथमिकताका आधारमा काम गर्ने अवसर समेत प्रदान गरिने जनाईएको छ ।

टेलिभिजनका सिईओ दिनेश डिसीको संचालनमा चलेको घोषणा कार्यक्रममा टेलिभिजनका एमडी श्याम धिताल, अभिनेता सन्तोष पन्त, जीतु नेपाल, विजय लामा, छायाँकार गौरीशंकर धूजु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति थियो ।