यस्तो बन्यो ‘बाबरी’को गीत ‘चुलबुल चुलबुल’



आगामी भाद्र ३१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बाबरी’को ‘चुलबुल चुलबुल’बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार केन्द्र मोशन पिक्चर्सको युट्युबबाट गीत रिलिज गरिएको हो । सार्वजनिक गीतमा अभिनेत्री अदिती बुढाथोकी र धिरज मगरलाई फिचर्ड गरिएको छ ।

सुजन चापागाईँको संगीत तथा रविन्द्र लामिछानेको शब्द रचना रहेको गीतमा संगीतकार चापागार्इँ र सुनिता थेगिमको स्वर सुन्न सकिन्छ । गीतको अडियो तथा भिडियो क्वालिटी उच्च देखिन्छ । सार्वजनिक गीतमा विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी हेर्न पाइन्छ । बाबरी रंगले दर्शकमाझ राम्रो हाइप बनाएकाले पनि निर्माण टिम चलचित्रको सार्वजनिक यो गीतले दर्शकको मन जित्नेमा विश्वस्त देखिन्छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई सुरेन्द्र पौडेलको निर्देशन गरेका हुन् । चलचित्रमा धिरज नाडकर, बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

बाबरी फिल्मको प्रस्तुतीमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह–निर्माता रहेको चलचित्रको कथा निर्देशक पौडेलले नै लेखका हुन् । चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रित सिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा चलचित्र छायांकन गरिएको हो । नरेन्द्र मैनालीको छायांकन रहेको चलचित्रका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।