फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन काठमाडौं र सगरमाथामा हुने



काठमाडौं । फ्रान्सेली फिल्म ‘दिग्वी’को छायांकन नेपालमा हुने भएको छ । लोकेसन खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोन सहितको टोलीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।

फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको छ । ३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकार समेत हुनेछन् ।

रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीतकार, निर्देशक तथा लेखक समेत रहेका सिमोनले ९० प्रतिशत छायांकन नेपालमा र बाँकी फ्रान्समै हुने जानकारी दिए । सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिबेलादेखि नै नेपालमा फिल्म छायांकनको योजना बनाएका थिए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न । म पनि आएको छु आनन्द र खुसी दिने एउटा फिल्म बनाउन ।’

कोरोना महामारीका कारण नेपालसहित विश्व फिल्ममा संकट आएको बताउँदै निर्देशक सिमोनले छायांकन हुन लागेको यो फिल्मले नेपालको पर्यटनलाई पनि सघाउने आशा राखे । आफू टपगन, जुरासिक पार्कजस्ता फिल्मको दर्शक भए पनि आफूले फिल्ममा आध्यात्मिकता र सन्देशको खोज गर्न रुचाउने उनले बताए । साथै उनले फिल्म टेलिभिजनजस्तो हुन नहुने बताए ।

‘फिल्म फिल्मजस्तै हुनुपर्छ, टीभीजस्तो होइन । ग्ल्यामर फिल्ममा आध्यात्मिकता पनि घोलेर खुवाउनुपर्छ । जब दर्शकले आफ्नो जरा फेला पार्छन् तब फिल्म उत्कृष्ट हुन्छ,’ सिमोनको व्याख्या छ ।

फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने एक यायावरको कथा भन्छ । पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा एक सारंगीवादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।

फिल्मको मुख्य पात्रको रुपमा रहेको बालक दिग्वी पात्रको कास्टिङ चाँडै हुने जनाइएको छ । फिल्मको नेपाल लाइन प्रोड्युसर नेपाल फिल्म प्रोडक्सन प्रालिका प्रमख दिग्विजय भारती र सुरेश अधिकारीले फिल्ममा नेपाली टिम पनि हुने बताए ।

मार्चदेखि फिल्म निर्माण सुरु हुने बताउँदै उनीहरुले काठमाडौंका पर्यटकीय सम्पदा र पर्यटकीय थलोमा छायांकन हुने जनाए । ‘यो एउटा युनिभर्सल अपील बोकेको फिल्म हुनेछ ।

नेपाल फिल्म प्रोडक्सन प्रालिले निकट भविष्यमा पनि अन्य अन्तर्राष्ट्रिय प्रोजेक्टमा पनि काम गर्ने जनाएको छ । कम्पनीका व्यवस्थापक दिग्विजय भारतीले यस फिल्मले नेपालको पर्यटनमा टेवा पुग्ने भन्दै अर्थपूर्ण र गहिराइको सन्देश बोकेको फिल्म भएकाले आफूहरुले सहकार्य गर्न लागेको उनले बताए ।