‘सम्झना विर्सना’को दोस्रो ट्रेलरमा पुजा र आकाशको बिचमा छुल्ठिम



काठमाडौँ। चलचित्र ‘सम्झना विर्सना’को दोश्रो ट्रेलर शनिवार सार्वजनिक गरिएको छ । निर्माण टिमले प्रदर्शन मिति फेरबदल भएपछि दोस्रो ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा कमेडी, लभ, रोमान्स, सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ । चिया बगानका मजदुरका समस्यालाई पनि ट्रेलरमा प्राथमिकता दिइएको छ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।

निमेष प्रधान लिखित तथा निर्देशित चलचित्रको दार्जिलिङ, सिलगुढी, सिक्किमलगायतका रमणीय स्थानमा छायांकन भएको हो । चलचित्रको ट्रेलरमा सबै प्रमुख कलाकारहरु आकाश श्रेष्ठ, पूजा शर्मा, सुनील थापा, छुल्ठिम गुरुङ र शिशिर राणालाई अटाइएको छ ।

अद्वितीय प्रधानको प्रस्तुति, रेविका प्रधानको निर्माण र सुवास भुर्तेल कार्यकारी निर्माता रहेको चलचित्रका सार्वजनिक दुई गीत ‘परेलीमा लुकाउछु’ र ‘हाँस्ने खेल्ने बेलैमा’ अहिले चर्चामा छन् । आदित्य फिल्म्स्को प्रस्तुति रहेको ‘सम्झना विर्सना’ शिब ढकालले खिचेका हुन् भने सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । यो चलचित्र यही असार ३१ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्रका गीतमा अर्जुन पोखरेल, राजन इशान, सुदर्शन तामाङ र निर्देशक निमेषकै संगीत छ । कमल राई र रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्रको वितरण आरआर फिल्मस्ले गर्दैछ ।