राजेश हमाल र प्रचण्ड भेटवार्ता



काठमाडौं । नेपाली चलचित्र ‘महानायक’ राजेश हमालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज भेटघाट गरेका छन् । उनी बिहान साढे ८ बजे प्रचण्डलाई भेट्न एक्लै उनको निवास खुमलटार पुगेका थिए । राजनीति र चलचित्रका दुई हस्तीबीच करिब आधा घन्टा सौहार्द कुराकानी भएको छ । भेटघाटको समन्वय गरेका माओवादी निकट संगीतकार चेतन सापकोटाले चलचित्र क्षेत्रदेखि राष्ट्रिय-अन्तर्राष्ट्रिय राजनीतिबारे चर्चा-परिचर्चा भएको जानकारी दिए ।

पछिल्लो समयमा विदेशी चलचित्र, खासगरी भारतीय र दक्षिण भारतीय चलचित्रले नेपाली चलचित्र उद्योगलाई पुर्‍याइरहेको असरप्रति हमालले प्रचण्डको ध्यानाकर्षण गराएका थिए । सरकारले विदेशी विलाशिताका वस्तुहरुको आयातमा रोक लगाउने निर्णय गर्दा त्यसमा विदेशी चलचित्रलाई नसमेटेकोमा हमालले असन्तुष्टि व्यक्त गरेका थिए ।

भेटवार्ताका क्रममा नेपालको राजनीतिक विषयवस्तुबारे पनि कुराकानी भयो । हमालले एमसीसीदेखि एसपीपी र बीआरआईसम्मका विषयमा आफ्नो धारणा राखेका थिए । प्रचण्डले उनको बुझाइमा आफ्नो समर्थन रहेको बताए । यस्तै श्रीलंकामा हाल उत्पन्न भएको संकटका विषयमा पनि कुराकानी भएको थियो ।