नेपाल-अमेरिका फिल्म फेस्टिभलमा हल्कारा र गड्स बफेलो उत्कृष्ट



काठमाडौं। नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘हल्कारा’ले उत्कृष्ट कथानक फिल्मको अवार्ड प्राप्त गरेको छ । विक्रम सापकोटा निर्देशित फिल्मले यसअघि पनि केही अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । आइतबार सम्पन्न फेस्टिभलको पाँचौं संस्करणमा माइकल ब्राउन निर्देशित ‘वृक म्युलु’ले उत्कृष्ट डकुमेन्ट्री अवार्ड जित्यो ।

‘वृक म्युलु’ पहिलो पटक स्क्रिनिङ गरिएको थियो । नेपाली पानारोमा अन्तर्गत मोहन राई निर्देशित फिचर फिल्म ‘वान नाइट इन काठमाडौं’ ले अवार्ड जित्यो । सर्ट फिल्म विधाको पुरस्कार विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ले जित्यो । अमेरिकाको मेरिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा भौतिक उपस्थिति र ‘भर्चुअल’ रूपमा जुन २३ देखि चार दिनसम्म फेस्टिभल आयोजना भएको थियो ।

नेपाल-अमेरिका फिल्म फेस्टिभलको उद्घाटन मेरिल्यान्ड राज्यका सांसद ह्यारी भण्डारी र कला तथा योजना आयोगका संयोजक फिल्ड डेबिजले गरेका थिए । जुन २६ मा निर्देशक माइकल ब्राउनको वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ स्क्रिनिङपछि महोत्सव समापन गरिएको छ ।

फेस्टिभलमा नेपाल, अमेरिकासहित १२ देशका ३८ सिनेमा प्रदर्शन गरिएका थिए । उत्कृष्ट सिनेमालाई निर्णायकले पुरस्कार घोषणा गरे । नेपालबाट अनुप सुवेदी, अमेरिकाबाट रिबेका बिसमानते, निना स्ट्रिच्क, भवानी राओ, डेब्रा जनसन, फारिड बोजोरमेयर र पोर्सिया कोब निर्णायकको रुपमा थिए ।