दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष बिजीको आग्रह– ‘दिलमायालाई न्याय खोजौँ, पैसा नबटुलौँ !’



काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायिका दिलमाया सुनारको नाममा आफूखुसी रकम संकलन नगर्न आग्रह गरेका छन् । अध्यक्ष बिजीले दिलमायाको नाममा रकम संकलन गर्ने क्रम देखिएपछि फेसबुकमा स्टाटस् लेख्दै यस्तो आग्रह गरेका हुन् ।

उनले घटनाको अनुसन्धान सुरु हुँदै गर्दा रकम उठाउने काम नगर्न आग्रह गरेका हुन् । अहिले दिलमायाको नाममा रकम उठाउनुभन्दा उनको न्याय खोज्न बिजीको आग्रह छ । उनले दिलमायाको लागि आवश्यक खर्च व्यहोर्न दोहोरीगीत प्रतिष्ठान तयार भएको बताएका छन् ।

 

अध्यक्ष बिजी लेख्छन् – ‘खबरदार ! दिलमायालाई न्याय खोजौँ, पैसा नबटुलौँ ! आवश्यक खर्च संस्थागत रुपमा व्यहोर्न प्रतिष्ठान तयार भएकै छ त ! कमसेकम घटनाको पूर्ण विवरण त आउन दिनुस् ।’
लोक तथा दोहोरी गायिका दिलमाया शनिबार बिहान काठमाडौं नेपालटारस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । मृत भेटिनुभन्दा केही घण्टाअघि फेसबुमा स्टाटस् लेखेकी उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले दिलमायाको प्रेमी सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

दिलमायाले स्वर दिएका केही गीतहरु सार्वजनिक छन् भने केही रेकर्ड भएका गीतहरु अधुरै छन् । उनी विशेष त लाइभ दोहोरी गायनका कारण चर्चामा थिइन् ।