‘घनचक्कर’को व्यापार निकै कमजोर, धेरै हलबाट दुई दिनमै उत्रियो फिल्म



काठमाडौं । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सौगात मल्ल र सलोन बस्नेत अभिनित फिल्म ‘घनचक्कर’ले निकै कमजोर ब्यापार गरेको छ । फिल्मलाई श्रीराम बालाजु फिल्मस्ले वितरण गरेको हो । वितरक सुनिल मानन्धरले फिल्मको व्यापार निकै कमजोर रहेको जानकारी दिए । ‘हलमा दर्शक नै छैनन् । ब्यापार शून्य नै भन्दा पनि हुन्छ’ मानन्धरले भने, ‘दुई दिनको व्यापार पाँच÷सात लाख पनि नहोला ।’ फिल्म प्रदर्शनको दुई दिनमै धेरै हलबाट उत्रिसकेको छ ।

जितेन्द्र राजोपाध्याय निर्देशित ‘घनचक्कर’ कमेडी जनारामा निर्माण भएको हो । सौगात र सलोनका अलावा फिल्ममा सरोज खनाल, जेवी डिसी, शिशिर भण्डारी, आशान्त शर्मा, कस्मिरा लामा, ईश्वरी खड्का, कृष्णभक्त महर्जन लगायतको अभिनय छ । गाउँबाट सहर पुगेर डेरा गरी बस्ने बेरोजगार युवाहरुको कथावस्तुमा फिल्म आधारित छ ।

अर्जुन सिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद रहेको फिल्मलाई करुणा अर्याल र संगम भट्टले लगानी गरेका हुन् ।