अपेक्षाविपरित ‘हिट’ भएको ‘कति राम्री सान्नानी…’



काठमाडौं । आफ्नै शब्द, संगीत, संगीत संयोजन र एकल स्वरमा प्रशान्त पौडेलले दुई साताअघि सार्वजनिक गरेको गीत हो – सान्नानी जाम पोखरा । अहिले म्युजिक भिडियोमा लाखौं लगानी गर्ने ट्रेन्ड छ । झकिझकाउ भिडियो बनाउने ट्रेन्ड छ । यस्तो माहोलमा पौडेलले ‘सान्नानी जाम पोखरा’को भिडियो प्रशान्तले सामान्य बनाए । एउटा स्टुडियोभित्र आफ्नो ‘लिप्सिङ’ खिचे, भिडियो तयार पारे । अनि आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरे ।

अहिले गीतले २२ लाख बढी भ्युज पाईसकेको छ । गीतको पहिलो टुक्कामा मात्रै झण्डै ५ लाख टिकटक बनिसकेका छन् । तर, सर्जक एवं गायक पौडेलले गीतले यति भ्युज पाउला भन्ने कल्पना समेत गरेका थिएनन् । सुरुवाती दिनमा गीतको भ्युज निकै कम थियो । पौडेलकै अनुसार दुई दिनमा भ्युज त्यही १० हजार आसपास पुगेको हुँदो हो । त्यो भ्युज देखेर पौडेल दुःखी भने भएनन्, बरु उल्टै खुशी भए । ‘म शब्द÷संगीत बढी गरिरहेको ब्यक्तिले यसमा आफैले एरेन्ज गरेँ र आफैले गाएँ । सोही कारण यो मेरो लागि एउटा परिक्षण पनि थियो’ सर्जक एवं गायक पौडेल भन्छन्,– ‘त्यसमाथि खासमा आफ्नो युट्युब च्यानललाई सक्रिय बनाउँ भनेर पनि यो गीत गरेको थिएँ । गीतले पछिसम्ममा १० हजार भ्युज पाए खुशी हुनेवाला थिए । तर, दुई दिनमै १० हजार भ्युज आउँदा खुशी नहुने कुरै थिएन् ।’

तेस्रो दिनदेखि भ्युज विस्तारै बढिरहेको थियो । प्रशान्तले त्यसपछि टिकटकतिर नियाले– ३/४ हजार भिडियो बनिसकेका थिए । विस्तारै गीतमा टिकटक बनाउनेहरु बढ्दै गए । यताउता आफ्नै गीत बजिरहेको सुन्न थाले । सवारीमा यात्रा गरेका गाउँतिरका साथीहरुले फोन गरेर सुनाए, ‘तिम्रो गीत त गाडीमा बजिरहेको छ ।’ क्रमशः साथीभाई, आफन्तदेखि सांगीतिक क्षेत्रका अग्रजहरुले समेत फोन गरेर गीत राम्रो बनेको भन्दै बधाई दिए ।

‘स्टुडियोमा पनि सबैले गीत राम्रो छ भन्नुहुन्थ्यो । तर, म एउटा संगीत संयोजक पनि बन्न सक्छु कि सक्दिन भनेर मलाई नै परीक्षण गरेको गीत हो’ प्रशान्त उत्साहित भावमा सुनाउँछन्, –‘सिकाई त कहिल्यै पनि सकिँदैन् । तर, बजारले खोजेको जस्तो, सबैले गर्ने जस्तो लेभलको ट्याक बनाउन सक्छु कि सक्दिन् । आफैले गाउँदा कत्तिको गाउन सक्छु भनेर परीक्षण गरेको थिएँ । दर्शक स्रोताहरुले मन पराईदिनुभयो । एकदमै खुशी छु ।’

यो गीत स्रोता/दर्शकले रुचाएसँगै ‘दोहोरी भर्सन’ समेत सार्वजनिक भएको छ, भिडियोसहित । केही दिनअघि सार्वजनिक ‘दोहोरी भर्सन’मा सन्दिप न्यौपाने र सरिता कार्कीले स्वर दिएका छन् । प्रकाश भट्टको निर्देशनमा अभिनेत्री लक्ष्मी बर्देवा र मोडल महेन्द्र गौतमले भिडियोमा अभिनय गरेका छन् । दोहोरी भर्सनलाई पनि स्रोता एवं दर्शकले रुचाईरहेका छन् । दोहोरी भर्सन यतिबेला युट्युब ट्रन्डिङको शीर्षस्थानमा छ ।