काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले दुईअर्थी, अपाच्य खालका गीतहरु नल्याउन अपिल गरेको छ । प्रतिष्ठानले तीजलाई लक्षित गर्दै यस्तो अपिल गरेको हो ।
यसवर्ष पनि तीज गीतहरु सार्वजनिक हुने छेकोमा रहेको अवस्थामा दोहोरीगीत प्रतिष्ठानले एक अपिलपत्र जारी गर्दै अपाच्य श्रव्यदृश्य सामाग्रीहरु प्रयोग नगर्न अनुरोध गरेको हो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, महासचिव सुवास केसी र विकृति विसङ्गति न्यूनीकरण कार्यदलका संयोजक शिव हमालद्वारा हस्ताक्षरित अपिलपत्रमा तीजगीतको नाममा संस्कृति बिगार्ने खालका गीतसंगीत प्रस्तुत नगर्न स्रष्टा, सर्जक, गायक/गायिका, उत्पादक, रेकर्डिङ स्टुडियो, श्रव्यदृश्य निर्माणकर्ता एवं वितरकहरुमा अनुरोध गरिएको छ ।
‘हरेक वर्ष उल्लेखित मात्रामा तीजगीतहरु कुनै न कुनै माध्यमबाट व्यवसायिक रुपमा हेर्न सुन्न पाइन्छ । यो सुखद् पक्ष हो’ अपिलपत्रमा भनिएको छ ‘तथापि कतिपय तीजगीतको नाममा देखिएका विकृति, विसङ्गती, अभद्र श्रव्यदृश्यहरुप्रति समस्त दर्शक स्रोताहरुको गुनासो वर्षेनी आईरहने हुँदा यसवर्ष पनि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ध्यानाकर्षण भएको छ ।’
संस्थागत अपिललाई वेवास्ता गरी समाजमा अपाच्य किसिमका सिर्जनाहरु प्रस्तुत गरेको पाइएमा साधारण सदस्यता लगायत सम्पूर्ण संस्थागत सेवा सुविधाहरुबाट समेत वञ्चित गर्न सकिने अपिलपत्रमा उल्लेख गरिएको छ । गतवर्ष संस्थाको अपिललाई वेवास्ता गर्दै गीत सार्वजनिक गरेपछि गायक दुर्गेश थापालाई प्रतिष्ठानले साधारण सदस्यबाट हटाएको थियो । तीज आगामी भदौ १४ गते मंगलबार मनाइँदैछ ।