चलचित्र ‘कृष्णलीला’को ‘ए मेरो हजुर..’गीत रिलिज



काठमाडौं । आगामी भदौ ३ गते कृष्ण जन्माष्टमीको दिनदेखि प्रदर्शन हुने चलचित्र ‘कृष्णलीला’ को ‘ए मेरो हजुर..’ बोलको गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै चलचित्रको रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

गीतमा चलचित्रका अभिनेता पुष्प खड्का र नवअभिनेत्री श्रद्धा क्षेत्री फिचर्ड छिन् । रवि ओड र सुनिता कार्कीको युगल आवाज रहेको गीतमा डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ । यस गीतको भिडियोलाई माईकल चन्दले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।

तिलिचो ताल र त्यसमाथिको क्षेत्रमा छायांकन गरिएको भिडियोमा पुष्प र श्रद्धाको केमेस्ट्री जमेको छ । भिडियोको लोकेशनले दर्शकहरुलाई लोभ्याउँछ । चलचित्रको डिजिटल राइट्स डीएआर मुभिजले खरिद गरेको छ।

दीपक ओली निर्देशित ‘कृष्णलीला’को प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । प्रकाशराज कार्की र केवल तामाङ निर्माता रहेको चलचित्र लभस्टोरी जनरामा निर्माण भएको हो । चलचित्रमा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रवीन्द्र झा, आयुशा क्षेत्री नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाईँ लगायतको अभिनय छ । शिव ढकाल र बाबु श्रेष्ठले छायांकन गरेको चलचित्रलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको लेखन लक्ष्मण सुवेदीले गरेका हुन् ।