‘सम्हालिन्छ कहिले मन’ को पहिलो गीत सार्वजनिक



काठमाडौं। लभस्टोरी चलचित्र निर्देशनमा सफल सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘जरुरी कुरा छ’ बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा सुरेश बाग्लेको शब्द रचना र अञ्जु पन्त र सुरेश लामा स्वर छ ।

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा अभिनेता सोनम तोप्देन र अभिनेत्री पूजा शर्मा फिचर्ड छन् । दुबई र युकेमा खिचिएको गीतमा उनीहरुको केमेस्ट्री जमेको छ । भिडियोमा सौरभ लामाको छायांकन तारिफयोग्य छ । भिडियोमा आकाशमा उड्ने प्लेनदेखि पानीमा चल्ने जहाजसम्म र सडकमा कुद्ने कारदेखि मरुभूमिमा हिँड्ने उटसम्म प्रयोग गरिएको निर्देशक थापाले बताए ।

गीत सार्वजनिक कार्यक्रममा निर्देशक सुदर्शन थापाले आफूले राम्रो चलचित्र निर्माण गर्ने प्रयास गरेको सुनाए । भदौ १७ गतेबाट प्रदर्शन हुन लागेको सिनेमामा पूजा र सोनमका अलवा आकाश श्रेष्ठ, गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । गायक समेत रहेका सोनमले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । एवि इन्टरनेशनलको ब्यानरमा निर्मित चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् ।

अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु र जेम्स प्रधानको संगीत, शैलेन्द्र मान प्रधानको ब्याकग्राउन्ड म्यूजिक, अर्जुन जिसीको सम्पादन रहेको सिनेमाको निर्मातामा अमित बस्नेत, सह-निर्मातामा परी राना, अजितकुमार थापा र कार्यकारी निर्मातामा सनिस खकुरेल र अंकित गौतम छन् ।