प्रदीप र दीया स्टारर ‘प्रकाश’को मनछुने गीत [भिडियो]



काठमाडौं । प्रदीप खड्का र दीया मास्के अभिनित सामाजिक चलचित्र ‘प्रकाश’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीवार ‘डिएआर मुभिज’ यूट्युबमार्फत् ‘मान्छे–मान्छे’ बोलको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । अशोक शेरचनको शब्द रचना रहेको गीतमा एलिश कार्कीको संगीत छ भने सत्यराज आचार्यको स्वर छ । गीतका लागि हेमन्त कान्छा रसाईलीले सारंगी बजाएका छन् भने शैलेन्द्र मान प्रधानले गीतको एरेन्ज एवं मिक्सिङ्ग गरेका हुन् ।

भिडियोमा चलचित्र भित्रका चल एवं अचल दृश्यहरु समावेश गरिएको छ । प्रदीप र दीया लगायतलाई प्रस्तुत गरिएको गीतमा १० वर्षे माओवादी जनयुद्धबाट व्यवस्था र सरकार फेरिए पनि व्यवहार फेरिन नसकेको विषयलाई उठाइएको छ । गीतमा जातीय र वर्गीय विभेदको समस्यालाई प्रस्तुत गरिएको छ । गीतका शब्दहरु मार्मिक छन् । लुक्स र पहिरन उत्तिकै ध्यान खिच्ने खालका छन् ।

‘प्रकाश’ दिनेश राउतको निर्देशनमा बनेको चलचित्र हो । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् ।

जुम्लाको एक विपन्न परिवारको युवकले शिक्षक बनेर बुबा र आफ्नो सपना पूरा गर्न खोज्ने संघर्षको कथामा चलचित्र निर्माण भएको हो ।

चलचित्रमा प्रकाश घिमिरे, राजन खतिवडा, रेनु योगी, अमजद प्रवेज, देवकुमार श्रेष्ठ, हुम बिसी, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, गोविन्द्र सुनार, पवित्रा खड्का, निरज पन्थी, धनराज सुनार लगायतको पनि अभिनय छ । महेन्द्र अधिकारी निर्माता रहेको चलचित्रको सह–निर्मातामा अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । जुम्लामा खिचिएको चलचित्रलाई राजेश श्रेष्ठले छायाँकन जीवन थापाले सम्पादन गरेका हुन् ।