सिक्किम सरकार द्वारा ‘कबड्डी ४’को प्रदर्शनमा रोक लगाउने निर्णय



काठमाडौं । नेपालमा व्यवसायिक सफल चलचित्र ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम सरकारले रोक लगाएको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको जनाए ।

‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म सिक्किममा कबड्डी ४ को प्रदर्शनमा रोक लगाउने निर्णय भएको छ,’ उनले उल्लेख गरेका छन् ।

सिक्किममा यो फिल्म शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो । गत साता अलइण्डिया बुद्धिस्ट फोरमसहित त्यहाँका बौद्ध धर्मगुरुले पत्रकार सम्मेलन गर्दै फिल्मलाई रोक लगाउन आग्रह गरेका थिए ।

त्यहाँ रहेका लामा समुदायहरुले अहिलेको अवस्थामा फिल्मलाई सिक्किममा प्रदर्शन नगर्न अपिल गरेका थिए । ‘कबड्डी ४’ की अभिनेत्री मिरुना मगरले काठमाडौंस्थित सिभिल मलमा चलचित्र हेरेर फर्किने क्रममा आफूमाथि ‘दुर्व्यवहार’ गरेको भन्दै बौद्ध भिक्षु फुर्पा तामाङमाथि थप्पड हानेकी थिइन् । साथै, उनलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । यो प्रकरणमा दुई दिनपछि मिलापत्र भएको थियो । चलचित्रको व्यापार नै प्रभावित हुने अवस्था आएपछि निर्माण टिमले नै संयोजन गरेर दुई पक्षबीच समझदारी गराएको थियो । तर, मिलापत्र भएपनि यो प्रकरण सेलाएको छैन् ।