‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणको घोषणा



काठमाडौं । छायाँछवि क्रियसनले आयोजना गर्दै आएको छोटा फिल्महरुको महोत्सव ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागि आव्हान गरेको छ । यो फेस्टाका लागि २०७९ असार २६ गतेसम्म छोटा फिल्म दर्ता गरी सक्नुपर्ने आयोजकले जनाएको छ ।

फेस्टा एवं छायाछविका अध्यक्ष शान्तिप्रियले छोटा फिल्म एवम् छोटा वृत्तचित्रले भाग लिन पाउने बताए । उनका अनुसार छोटा फिल्म एवं छोटा वृत्तचित्रको समयावधि २ मिनेटदेखि ५९ मिनटभित्रको हुनुपर्नेछ ।

‘नेपालमा पछिल्लो समय छोटा फिल्म एवं वृत्तचित्रको निर्माण बढेको छ । छोटा फिल्म एवं वृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता फिल्म एवं वृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्याउन र अझै गुणस्तरयुक्त बनाउन प्रोत्साहन दिने फेस्टिभल गर्न गरेका हौं’, उनले भने ।

फेस्टामा सहभागी फिल्मलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवार्ड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्डलगायतका अवार्ड प्रदान गरिनेछ ।

यीमध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (वृत्तचित्र)लाई क्रमशःट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।