‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि



काठमाडौँ। दिनेश राउत निर्देशित चलचित्र ‘प्रकाश’को विदेश राइट्स महँगो मुल्यमा बिक्रि भएको छ । आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश अधिकार बिक्री भएको हो ।

निर्देशक राउतले केही समयअघि सार्वजनिक चलचित्रको टिजरप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि विदेशका लागि मात्र सिनेमाको प्रदर्शन अधिकार बिक्री गरिएको बताए । निर्देशक राउतले भने -‘नेपालमा सिनेमा रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ ।’

चलचित्रले एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । बिकास सुबेदीको लेखन रहेको चलचित्रले जनयुद्धमा सहभागी बेपत्ता योद्धाको परिवारको कथा देखाएको छ । जुम्लामा छायाँकन भएको चलचित्रले त्यहाँको परिवेशलाई समेटेको छ ।

चलचित्रमा प्रदिप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको डिजिटल राइट्स डिएआर मुभिजले खरिद गरेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारीको लगानी रहेको चलचित्रलाई आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।