महिनौंअघि रेकर्ड भएका यी ‘हिट’ गीतका ‘चाइल्ड भर्सन’ कता हराए ?



काठमाडौं । पछिल्लो समय गीत हिट भयो कि त्यसको विभिन्न भर्सन ल्याउने लहर नै छ । यस्तोमा चाइल्ड भर्सन समेत प्राथमिकतामा पर्दै आएका छन् । पछिल्लो समय पनि ‘फुटबुट्टे सारी’देखि ‘फोटो फिरिममा’सम्म चाइल्ड भर्सनमा सार्वजनिक भैसकेका छन् । तर केही हिट गीतका चाइल्ड भर्सन भने रेकर्ड भएर पनि महिनौंसम्म सार्वजनिक भएका छैनन् । यसले ति चाइल्ड भर्सन आउने हुन वा होइनन् समेत अन्यौल गरिदिएको छ । निकै हिट गजल गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई गीतकार विपिन किरणले चार महिनाअघि रचना रिमालको स्वरमा सार्वजनिक गरे । रचनासँगै यो गीत चाइल्ड भर्सनमा पनि ल्याउने तयारी थियो ।

चाइल्ड भर्सनका लागि बालगायक सुप्रिम मल्ल ठकुरीले स्वर दिए । ‘रचना भर्सन’सँगै सुप्रिमले स्वर दिएको ‘चाइल्ड भर्सन’को भिडियो छायाँकन एकैपटक गरिएको थियो । तर, रचनाले स्वर दिएको गीत सार्वजनिक भएको महिनौं हुँदा सुप्रिमले स्वर दिएको चाइल्ड भर्सन भने सार्वजनिक हुन सकेको छैन् ।

बालगायक सुप्रिम मल्ल ठकुरी

त्यस्तै, झण्डै दुई वर्षअघि सार्वजनिक भएर निकै चर्चित बनेको गीत हो, ‘ओए काजल’ । चक्र बमको शब्द, संगीत, स्वर एवं अभिनय रहेको यो गीत पनि चाइल्ड भर्सनमा महिनौंअघि रेकर्ड भएको थियो । चक्रले सुप्रिम मल्ल ठकुरीको स्वरमा रेकर्ड गराएको चाइल्ड भर्सनको भिडियोको छायाँकन समेत साढे तीन महिनाअघि नै गरिएको थियो ।

‘तपाईहरुले अत्यन्त रुचाउनुभएको ओए काजल गीतको चाइल्ड भर्सनको सुटिङ सम्पन्न गरेका छौं’ चक्र बमले फेसबुकमा लेखेका थिए ‘साना नानी बाबुको हौसला र प्रोत्साहनमा सानो प्रयासलाई स्वीकारिदिनुहोला ।’ तर उनले यो लेखेको तीन महिनासम्म पनि ‘ओए काजल’को चाइल्ड भर्सन सार्वजनिक भएको छैन् ।

एक वर्षअघि सार्वजनिक ‘रेलको बाटो’लाई पनि स्रोता दर्शकले निकै रुचाए । यो गीत पनि चाइल्ड भर्सनका लागि सुप्रिम मल्ल ठकुरीकै स्वरमा रेकर्ड भैसकेको छ । यो गीतको चाइल्ड भर्सन नयाँवर्ष २०७९ को अवसरमा सार्वजनिक गर्ने मोडल जीबी चिरन (चिरञ्जिवी सापकोटा)ले जनाएका थिए । यद्यपी यो गीतको चाइल्ड भर्सन पनि आजका मितिसम्म सार्वजनिक भएको छैन् ।