काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ फिल्मलाई हेमराज बीसीले निर्देशन गर्ने भएका छन् । निर्माता र निर्देशक बीसीबीच लिखित सम्झौता भएको छ । स्रोतका अनुसार अहिले दीपक–दीपाले ‘छक्का पञ्जा ४’ नभई ‘माग्ने राजा’ नाममा फिल्म बनाउन लागेका हुन् । सोही फिल्मलाई हेमराजले निर्देशन गर्न लागेका हुन् । फिल्मका लागि अहिले निर्माता एवं अभिनेता गिरी र निर्देशक बीसीले मिलेर पटकथा लेखिरहेका छन् । आगामी साता फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भइरहेको बताईएको छ ।
दीपकराजले निर्देशकमा हेमराज बिसी फाइनल भएको बताउँदै बाँकी कलाकार चाँडै तय हुने जानकारी दिएका छन् । असार पहिलो साताबाट फिल्मको छायाँकन सुरु गर्ने टिमको तयारी छ ।
‘होस्टेल’ निर्देशनसँगै नेपाली फिल्ममा उदाएका बीसीले ‘गाजलु’, ‘द ब्रेकअप’, ‘ग्याङस्टार ब्लुज’, ‘घामड शेरे’ लगायतका फिल्म निर्देशन गरेका छन् ।