झापाको जेलमा रहेका भारतीय फोटोग्राफरलाई छुटाउन एनएफपिजेले पहल गर्ने



काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् ।

‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन ।

भारतको कोलकाता नजिकैको हावरा स्थायी ठेगाना भएका २४ वर्षीय दुर्लभ रोय चौधरी खासमा भारतीय फोटोग्राफर र ब्लगर हुन् । नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न संस्थामा फ्रिलान्स फोटोग्राफरका रुपमा काम गर्ने चौधरीले डलरको फोटोकपी बोकेर नेपाल आएको कारण उनलाई भद्रपुरस्थित विमानस्थलबाट पक्राउ गरिएको थियो ।

गत मंसिरको २ गते साँझ साँढे ४ बजे झापास्थित भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा डलरजस्तो देखिने २२६ थान नोटसहित दुर्लभलाई पक्राउ गरिएको थियो । प्रहरी प्रतिवेदन अनुसार भद्रपुरबाट काठमाडौं जाने क्रममा शरीर तथा ब्याग खानतलासी गर्ने क्रममा चौधरीको साथबाट एक सय दरका २२६ थान अमेरिकी नोटहरु फेला परेको थियो । उक्त नोटसहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय झापा पठाइयो र प्रहरी प्रतिवेदनका आधारमा मंसिर २४ गते झापा जिल्ला अदालतमा मुद्रासम्बन्धी कसुरमा उनीमाथि मुद्दा चलाइएको थियो ।

भारतको कोलकातामा बसोबास गरिरहेका दुर्लभ फोटोग्राफी र भिडियो ब्लगिङमा रुची राख्थे । कक्षा १२ उत्तीर्ण गरेपछि उनी फोटोग्राफीमै थप शिक्षा हासिल गर्न चाहन्थे । तर सन् २०१५ मा क्यान्सरको कारण दुर्लभको बुवाको मृत्यु भयो । बुवा, आमा र एक सन्तानमात्रै भएको परिवारमा कमाउने व्यक्तिको मृत्यु भएपछि दुर्लभले चाहेको जस्तो शिक्षा लिन सकेनन् । अनि कक्षा १२ उत्तीर्ण गरेलगत्तै फोटोग्राफीलाई नै आफ्नो पेशा बनाए । त्यही पेशाबाट नै आफू र आमाको पालनपोषण गर्न थाले । यसै क्रममा उनले नेशनल जिओग्राफी, प्राक्टिकल फोटोग्राफी, वल्र्ड स्ट्रिट फोटोबुक, टाइम्स अफ इण्डिया लगायतका विभिन्न फ्रि ल्यान्स फोटोग्राफरका रुपमा काम गर्न थाले । यसबाट उनको आम्दानी राम्रै हुन थाल्यो ।

यसैक्रममा दुर्लभले सर्ट मुभी र डकुमेन्ट्री तथा भिडियो ब्लगहरु समेत बनाउन थाले । दुर्लभले स्निपर मंक ट्राभल्स नामक युटुब च्यानल पनि भर्खरै खोले र त्यसका लागि ट्राभल ब्लग तथा डकुमेन्ट्री बनाउन थाले ।

अन्य देशमा पुगेरसमेत ट्राभल्स ब्लगहरु बनाएका दुर्लभलाई नेपालको प्राकृतिक सुन्दरताको बारेमा ट्राभल्स ब्लग बनाउने ईच्छा लाग्यो । आफू घुम्न पनि हुने र ट्राभल्स ब्लग पनि बनाउन सकिने भएपछि दुर्लभ कोलकाताबाट जलपाइगुडी हुँदै नेपाल आए । दिल्ली वा मुम्बईबाट सोझै काठमाडौं आउन टिकट महङ्गो पर्ने भएपछि दुर्लभ झापाको काकडभित्ताबाट प्लेनमा काठमाडौं आउनका लागि टिकट काटे र विमानस्थल पुगे । त्यही क्रममा दुर्लभको साथबाट प्रहरीले २२६ थान डलरको फोटोकपी जस्तो देखिने नोट बरामद गरेको थियो ।

फोटो: दुर्लभ रोय चौधरीको सामाजिक सञ्जालवाट