‘चलचित्रकर्मीका समस्या समाधानका लागि पहल गर्छु’ : मन्त्री आले



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्रकर्मीका समस्या समाधानका लागि आफूले पहल गर्ने बताएका छन् । आज नेपाल चलचित्र सङ्घको ४७औँ वार्षिक साधारणसभाको उद्घाटनसत्रमा उनले चलचित्रकर्मी देशलाई चिनाउने एक धरोहर भएकाले उनीहरूलाई परेका समस्या तथा बाधा अवरोधसहित समस्या समाधानका लागि आफू सधैँ लागि पर्ने बताएका हुन् ।

मन्त्री आलेले चलचित्रकर्मीलाई आफ्ना चलचित्र छायाङ्कन गर्नका लागि यहाँका पर्यटकीय तथा हिमाली क्षेत्रमा जाँदा आवश्यक पर्ने सहयोगका लागि आफूसहित मन्त्रालय सधैँ तयार रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल कला, संस्कृतिका हिसाबले धनी देश भएकाले यहाँका पर्यटकीय तथा कला, संस्कृतिका विषयमा चलचित्र निर्माण गर्न पनि उनले चलचित्रकर्मीलाई आग्रह गरे ।

चलचित्र क्षेत्रलाई डिजिटल युगमा अगाडि बढाउनमा चलचित्र सङ्घले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै मन्त्री आलेले खुलेर सङ्घको प्रशंसासमेत गरे । उनले छिमेकी मुलुक भारतका कलाकारलाई मन्त्रीस्तरको सम्मान दिइने गरेको र नेपालका कलाकारले विदेश जाँदा विमानस्थलमा भिआइपी कक्षसमेत नपाउने गरेको गुनासो आएकाले मन्त्रालयकातर्फबाट कलाकारलाई विशिष्ट कक्ष उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा पासका लागि पत्र लेखी पठाउनेसमेत जानकारी गराए ।

“कोभिडका कारण चलचित्रकर्मीले विद्युत् महसुलदेखि विभिन्न समस्या भोग्नुपरेको छ, त्यो समस्या समाधानका लागि म पहल गर्नेछु”, मन्त्री आलेले भने, “कोभिडका कारण चलचित्रकर्मीले भोग्नुपरेका समस्या समाधानका लागि मसहित मेरो मन्त्रालय तयार छ ।”

उनले सुदूरपश्चिमका खप्तड, बडिकेदार, बडिमालिका, जोरायलको छहरा, छतिवनताललगायतका प्रमुख पर्यटकीय क्षेत्रमा गएर आफ्ना चलचित्र छायाङ्कन गरिदिनसमेत आग्रह गरे । उक्त कार्यक्रममा चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिने वरिष्ठ नायक तथा चलचित्र निर्मातालाई प्रमाणपत्रसहित सम्मानसमेत गरिएको थियो ।

तस्विर सौजन्य- मेरो फिल्म