चलचित्र ‘सर्वजित’को प्रधानमन्त्रीले गरे शुभ मुहूर्त



काठमाडौं । चलचित्र ‘सर्वजित’को शुभ मुहूर्त गरिएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले चलचित्रको शुभ मुहूर्त गरेका हुन् । दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा निर्माण हुन लागेको चलचित्रलाई दिनेश डिसीले निर्देशन गर्नेछन् ।

नेपालमा लैंगिक तथा जातीय विभेदको विरुद्धमा कार्य गर्दै आएको दलित महिला केन्द्रले चलचित्र निर्माण गर्न लागेको हो । १७ औं जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
रणिन्द्र बराईलीले लेखेका लेखमा आधारित कथा, जनक खड्काको पटकथा रहने चलचित्रमा मोहन निरौलाको संवाद रहनेछ ।

शौरभ लामाको छायाँकन रहने चलचित्रमा एन वि. महर्जनको द्धन्द्ध, एलिश कार्कीको पाश्र्व संगीत रहने चलचित्रलाई नहकुल खड्काले सम्पादन गर्नेछन् । चलचित्रको लागि कलाकारहरु भने फाइनल गरिएको छैन् । भदौंबाट छायाँकनमा जाने भनिएको चलचित्र बागलुङ, पाल्पा, पोखरा, वनारस र काठमाडौंमा छायाँकन हुने जनाईएको छ । चलचित्रको डिजिटल पार्टनर तथा पोष्ट प्रोडक्सन डिएआर मुभिज रहेको छ । चलचित्र निर्माणका लागि एक करोड २५ लाख लागत अनुमान गरिएको छ ।

चलचित्र निर्माणमा पर्यटनमन्त्री आलेले ५ महिनाको तलब सहयोग गर्ने
यस चलचित्र निर्माणमा पर्यटनमन्त्री प्रेम आलेले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।