‘लण्डन टु पेरिस’ मा साम्राज्ञीको अपोजिटमा निश्चल अनुबन्धित



काठमाडौं। घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लण्डन टु पेरिस’मा निश्चल खड्का अनुबन्धित भएका छन् । उनको जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ ।

अष्ट्रेलियामा अध्ययन सकाएर अभिनयमा भविष्य बनाउनका लागि नेपाल फर्किएका उनले केही विज्ञापनमा मोडलिङ गरिसकेका छन् । अष्ट्रेलियामा बस्दा पनि केही मोडलिङ इभेन्टमा उनले सहभागिता जनाएका थिए । केही समय पहिले चलचित्रको मुख्य भुमिकाको लागि लिखित सम्झौता भएको निर्माता सिद्धार्थ सिम्खडाले बताए ।

चलचित्रमा साम्राज्ञी र निश्चलका अलवा गरिमा शर्मा र कबीर खड्का पनि मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन् । म्यूजिक भिडियोमा अभिनय गरिरहेकी गरिमाले ‘लण्डन टु पेरिस’ अभिनेत्रीको रुपमा डेब्यू गर्दैछिन् । चलचित्रको बाँकी कलाकारहरु लण्डनबाटै छनोट गरिने निर्माता अजित कुमार थापाले बताए ।

केही हप्तादेखि नाट्यकर्मी सरिता गिरिले चलचित्रका कलाकारलाई वर्कसप गराइरहेकी छन् । एबी इन्टरनेशनलले निर्माण गर्न लागेको चलचित्रको बेलायत र फ्रान्समा छायांकन हुनेछ । आगामी असार दोस्रो साताबाट छायांकन गरिने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् ।

‘लण्डन टु पेरिस’को निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्माता अजित सिंह छन् । एबी इन्टरनेशनलले निर्माण गरेको ‘सम्हालिन्छ कहिले मन’ रिलिजको तयारीमा छ । यस्तै, यही ब्यानरले निर्माण गरिरहेको सिनेमा ‘हनी बनी’को हाल बेलायतमा छायांकन भइरहेको छ ।