तीज गीतको तयारीमा कलाकारहरु



काठमाडौं – तीज आउन झण्डै ३ महिना बाँकी रहेपनि कलाकारहरुले गीतको तयारी सुरु गरिसकेका छन् । कलाकारहरुले तीज गीत ल्याउनका लागि अहिल्यैदेखि कसरत सुरु गरेका हुन् । गीतकारहरु तीज गीतको लेखनमा व्यस्त छन् भने संगीतकारहरु संगीत सिर्जना गर्नमा लागेका छन् ।

यता, गायक/गायिकाहरु तीज गीत रेकर्डिङ गर्ने तरखरमा जुटेका छन् । केही गायक/गायिकाहरुले भने यसवर्षका लागि तीज गीत रेकर्डिङ समेत गरिसकेका छन् । गायिका मञ्जु पौडेलले यसवर्षका लागि एउटा तीज गीत रेकर्ड गराईसकेकी छिन् । गीत अहिले रेकर्डिङ भएपनि भिडियो सार्वजनिक हुन भने समय लाग्ने उनी बताउँछिन् । गायिका राधिका हमालले तीनवटा तीज गीत रेकर्ड गराईसकेकी छिन् । ‘तीनवटा तीज गीत रेकर्ड गराएकी छु । आफ्नो तीज गीत पनि बनाउँदैछु’ हमालले भनिन् ‘अरु केहीसँग पनि कुरा भईरहेको छ ।’ अनामनगरस्थित उनको आफ्नै स्टुडियो ‘म्युजिक बैंक नेपाल रेकर्डिङ स्टुडियो’मा पनि नियमितजसो तीज गीत रेकर्डिङको काम हुन थालेको छ ।

गायक खेम सेञ्चुरीलाई भने तीज गीतको चटारोले राम्रैसँग छोईसकेको छ । उनले आधा दर्जन गीत रेकर्ड गराईसकेका जानकारी दिए । शुक्रबार पनि आफू तीज गीत रेकर्डिङकै क्रममा रहेको उनले जानकारी दिए । रेकर्डिङको काम शुरु भएपनि भिडियो छायाँकनको काम भने शुरु भएको छैन् । अब तीज गीतको भिडियोको छायाँकन पनि सुरु हुने तरखरमा छन् । तीज गीतमा सर्वाधिक खोजिनेमध्येकी निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले भिडियोको काम सुरु हुने तरखरमा रहेको जानकारी दिइन् । उनी स्वयंमले अर्को सातादेखि तीज गीतको भिडियोको छायाँकन सुरु गर्ने बताईन् ।

कलाकारहरु अहिल्यैदेखि तीज गीतको तयारीमा लागेपनि भिडियो भने असार १५ गतेपछि मात्रै सार्वजनिक हुने गरेका छन् । साउनको सुरुदेखि भने तीज गीत सार्वजनिकको बाढी नै आउने गर्छ ।