नेपाल छाडेर अमेरिका बस्न थालेकी हुन् बीमाकुमारी दुरा ?



काठमाडौं । नेपाली लोकदोहोरी क्षेत्रकी पुरानी र लोकप्रिय गायिका बीमाकुमारी दुराले नेपाल बसाई छाडेकी छिन् । अमेरिका बस्ने निर्णय गर्दै उनले नेपाल बसाई छाडेकी हुन् ।

उनी केही दिनअघि श्रीमानसहित अमेरिका पुगिसकेकी छिन् । उनकी छोरी ४ वर्षदेखि अमेरिकामै थिइन् । छोरीले सबै बन्दोबस्तो मिलाएपछि बीमाकुमारी अमेरिका बस्ने निधो गरेको उनी निकट स्रोतले बतायो ।

अमेरिका उड्ने क्रममा गायिका बीमाकुमारीले आफू बाध्यताले देश छाडेर जान लागेको बताएकी छिन् । सेलिब्रेटी नेपाललाई प्रप्त छोटो भिडियोमा उनले आफूजस्तो रोएर अरु जनतालाई हिँड्न नपरोस् भनेकी छिन् । उनले भनेकी छिन् –‘मेरो देश प्यारो छ मलाई । मलाई हुर्कायौ, सात समुद्रसम्म घुमायौ धन्यवाद नेपाललाई । तर, न्याय कहाँ छ भन्न चाहान्छु ।’ आफू घर बिक्रीमा ठगिएपछि अमेरिका बस्ने निधो गरेको उनको टिप्पणीबारे बुझ्न सकिन्छ । उनले गीत गाएको पैसा बचत गरेर काठमाडौं गोंगबुमा पाँचतले घर ठड्याएकी थिइन् । दुःखले जोडेको उक्त घर बिक्री गर्ने क्रममा उनी आफन्तबाटै ठगीको शिकार भएकी थिइन् । दुराले केही लाखको चेक पाएपछि विश्वासमा परेर घर पास गरिदिएको तर हातमा लालपुर्जा परेपछि ठगले सहकारीमा घर धितो राखेर डेढ करोड ऋण लिएका थिए । त्यसपछि ठग सम्पर्कविहिन हुँदा बीमाकुमारीले बिलौना गर्दै आएकी थिइन् ।

पछिल्ला अन्तवार्ताहरुमा उनी निकै भक्कानिने गरेकी थिइन् । एक महिनाअघिको अन्तवार्तामा भक्कानिँदै भनेकी थिइन्, ‘म त एक वर्ष भयो, राम्रोसँग सुतेकै छैन ।’ तीन साता अघिमात्रै पनि एक अन्तवार्तामा उनले भनेकी छिन् ‘भूकम्प जाँदा जति सडकमा आएका थिए । भूकम्पले लगेको घरको त त्यहाँ जग्गा छ, छाप्रो हालेर बसिन्छ । मेरो त त्यो नि होइन् । भूकम्पले लगे म खुशी हुन्थे । मेरो त बासै हरायो, बासै छैन् ।’ उनले केही दिनअघि मात्रै पनि फेसबुकमा ‘म ठगिएपनि नेपाली जनता नठगिउन’ भनेर स्टाटस् लेखेकी छिन् । यस्ता अभिव्यक्तीहरुबाट अनुमान गर्न सकिन्छ, घर बिक्रीका क्रममा ठगिनु परेपछि उनले नेपाल छाडेर स्थायी बसोबासका लागि अमेरिका जाने निर्णय लिएकी हुन् ।
बीमाकुमारीको जन्म लमजुङको दुराडाँडामा भएको थियो । उनी तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी गीतसंगीतमा सक्रिय बीमाकुमारी एक समयकी ‘नम्बर वान’ लोकदोहोरी गायिका हुन् ।

दरबारमा समेत गीत गाएकी उनका थुप्रै गीत लोकप्रिय छन् । ‘छुट्यो मायाजाल’, ‘माझीदाइ पोखरा’, ‘जम्मु कस्मिरमा’, ‘हङकङ आइडीले’, ‘खैरेनीमा गेट’, ‘वनको काफल वनकै चरीलाई’, ‘यो दाजुको मिर्मिर आँखा’, ‘पानसमा बत्ती बालेको’, ‘लडाइँको लाहुरे’, ‘दमौलीमा गेट’ जस्ता गीतहरू आजपर्यन्त पनि उत्तिकै चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.