लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मान, आधा दर्जन निर्देशक सम्मानित



काठमाडौं। लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई दीर्घ साधना सम्मानद्धारा सम्मानित गरिएको छ । शुक्रबार चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रममा चलचित्र निर्देशक समाजले लक्ष्मीनाथ शर्मासँगै आधा दर्जन चलचित्र निर्देशकलाई सम्मान गरेको हो ।

नेपाल चलचित्र निर्देशक समाजको १४ औँ साधारण सभाको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लक्ष्मीनाथ शर्माले लामो समयदेखि गरेको योगदानका लागि सम्मान गरिएको चलचित्र निर्देशक समाज निर्मित सम्मानपत्रमा उल्लेख गरिएको थियो । भारतको पुनामा रहेको फिल्म तथा टेलिभिजन इन्स्टिच्युटमा लेखन तथा निर्देशनमा स्नातक पास गरेका लक्ष्मीनाथ शर्माले ‘बदलिँदो आकाश’बाट निर्देशन यात्रा सुरु गरेका थिए । उनले १३ वटा चलचित्र निर्देशन गरेका छन् । ‘साथी’ उनले निर्देशन गरेको सर्वाधिक सफल चलचित्र हो ।

यसै गरी कार्यक्रममा अन्य निर्देशकलाई पनि उनीहरूले गरेको कामका लागि सम्मान गरिएको थियो । यसरी सम्मान पाउनेमा केपी पाठक, नरेश पौडेल, ज्ञानेन्द्र देउजा, मदन घिमिरे, सुचित्रा श्रेष्ठ र मिलन चाम्स थिए । नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको कार्यक्रममा थुप्रै चलचित्रकर्मिको उपस्थिति रहेको थियो।

सोहि अवसरमा यु एन डिपी,कानुन तथा संसदिय मन्त्रालय र नर्वे दुतावास संग मिलेर नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको जातीय विभेद बिरुद्धको शर्ट फिल्म कम्पिटिसनका विजेतालाई पुरस्कार पनि प्रदान गरियो। शर्ट फिल्म ‘अछोप’ ले सान्त्वना पुरस्कार नगद २५ हजार,शर्ट फिल्म ‘नयाँ जुत्ता’ले तृतीय पुरस्कार नगद पचास हजार, शर्ट फिल्म ‘शुन्य’ले दीत्तीय पुरस्कार नगद १ लाख पचास हजार र प्रथम पुरस्कार शर्ट फिल्म ‘द बास्केट’ले नगद दुई लाख प्राप्त गर्न सफल भए। उक्त कम्पिटिसनको मुख्य जुरीमा निर शाह रहेका थिए।