निर्वाचनले रोकिएका म्युजिक भिडियो धमाधम हुँदैछन् सार्वजनिक



काठमाडौं । स्थानीय तह निर्वाचनको माहोलमा म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भएनन् । दर्शकहरुको ध्यान निर्वाचन र मतपरिणाममै केन्द्रित हुने हुँदा सम्बन्धित कलाकारहरुले भिडियो सार्वजनिक गरेका थिएनन् । तयार म्युजिक भिडियोहरु पनि यो अवधिमा सार्वजनिक भएनन् । धेरै स्थानको अन्तिम मतपरिणाम आएसँगै भने म्युजिक भिडियोहरु सार्वजनिक भैरहेका छन् ।

राजेश पायल राई, प्रमोद खरेल, रामजी खाँड, अस्मिता अधिकारी, टीका प्रसाईँ लगायतको स्वर रहेका तथा केकी अधिकारी, मलिका महत, राहुल शाह लगायतको अभिनय रहेका गीतका भिडियोहरु निर्वाचनयता युट्युबमा आईसकेका छन् ।

निर्देशक काजिश श्रेष्ठ निर्वाचनको माहोल विस्तारै सेलाउँदै गएसँगै सांगीतिक माहोल अहिले फेरी चलायमान भएको बताउँछन् । उनका निर्वाचनअघि नै तयार केही म्युजिक भिडियो सार्वजनिक हुने क्रममै छन् । ‘तयार भएका गीतहरु पनि निर्वाचनको समयमा सार्वजनिक गरिएन् । निर्वाचनअघि निर्देशन गरेका आधा दर्जन बढी भिडियोहरु सार्वजनिकका लागि तयार छन् । ति अब बल्ल क्रमशः सार्वजनिक हुनेछन्’ निर्देशक श्रेष्ठले भने, –‘मंगलबारदेखि छायाँकन पनि सुरु गर्छु । क्रमशः बिहीबार, शनिबार पनि छायाँकन तय भैसकेको छ ।’

निर्देशक काजिशका थुप्रै कलाकारहरुले तयार भएका म्युजिक भिडियोहरु निर्वाचनको केही दिन अघिपछि सार्वजनिक गरेनन् । त्यसका कारण निर्वाचनअघि तयार भएका थुप्रै भिडियोहरु सार्वजनिक हुने क्रममा छन् । अहिले सार्वजनिक भैरहेको अधिकांश म्युजिक भिडियोहरु पनि निर्वाचन अघि नै तयार भएका रहेको काजिशले बताए ।

‘अब निर्वाचनअघि तयार भिडियोहरु भटाभट सार्वजनिक हुन्छन्’ उनी भन्छन् ‘गत शुक्रबार पनि केही भिडियोहरु आए । यो शुक्रबार टन्नै भिडियोहरु आउँछन् होला ।’ म्युजिक भिडियोहरु अन्य दिनको तुलनामा शुक्रबार बढी मात्रामा सार्वजनिक हुने गरेका छन् ।