‘लाइफ इन एलए’ को प्रचार प्रसारको लागी अकेशा बिष्ट नेपालमा



काठमाडौं। टेलिभिजनबाट म्युजिक भिडियो हुँदै सिनेमा ‘जिन्दगी रक्स’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अकेशा बिष्ट डेब्यू सिनेमा रिलिजपछि अमेरिका उडिन् । अमेरिका पुगेपछि उनले करीब ६ वर्ष अध्ययनमा समय विताइन् । अकेशा अहिले फेरि अभिनय दुनियाँमा कमब्याक गरेकी छिन् । आगामी जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘लाइफ इन एलएबाट उनले कमव्याक गर्दैछिन् । यसैका लागि उनी सोमवार अमेरिकाबाट नेपाल आएकी छन् । अकेशा आफ्नो कमब्याक खुसी, डर र नर्भसले भरिएको बताउँछिन् । तर, अब अमेरिकामा बसेरै भए पनि अभिनयलाई निरन्तरता दिने सोच उनको छ ।

सोमवार राजधानीमा पत्रकारसँग कुराकानी क्रममा आफु सिनेमामा फर्किन ढिलाई हुनुको कारणबारे भन्दै थिइन्, ‘मेरो पहिलो सिनेमा रिलिजपछि देशमा भूकम्प गयो । त्यसपछि सिनेमा निर्माण सम्बन्धि काम खासै भएनन् । त्यसलगत्तै म अमेरिका गएँ । उता गएपछि पढाई र कामले गर्दा सिनेमामा समय दिन सकिएन । अब राम्रो भूमिकाबाट प्रस्ताव आयो भने अभिनयलाई निरन्तरता दिने सोचमा छु ।’

आफू अमेरिकामा बस्न थाले पनि मनबाट नेपाली सिनेमा कहिल्यै टाढा हुन नसकेको उनले सुनाइन् । ‘म अमेरिका बस्न थाले पनि नेपाली सिनेमा सधैं मनमा थियो । बीच-बीचमा केही सिनेमाबाट अफर पनि आएको थियो तर व्यस्तताका कारण काम गर्न पाएको थिइनँ । ‘लाइफ इन एलए’बाट प्रस्ताव आउँदा म फुर्सद नै थिएँ । स्क्रिप्ट र भूमिका मन परेपछि काम गरेकी हुँ,’ उनले भनिन् ।

नेपाल प्रदर्शनअघि सिनेमाको अमेरिकाको विभिन्न राज्यमा प्रिमियर गरिएको थियो । त्यहाँ मिलेको प्रतिक्रियाबाट उत्साहित भएकी अकेशा नेपालमा पनि दर्शकले सिनेमा मन पराउनेमा आशावादी छिन् । सूर्य एन श्रेष्ठ निर्देशित सिनेमा ‘लाइफ इन एलए’मा ब्यास बिस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।