‘२ नम्बरी’ को छायांकन सकियो



काठमाडौं । नेपाली फिल्म ‘२ नम्बरी’को छायांकन सकिएको छ । २६ दिनमा मंगलबारबाट यस फिल्मको छायांकन सकिएको निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।

‘कास्कीको ल्वाङ गाउँमा मेरो चौथो फिल्म ‘२ नम्बरी’को एउटा गीतसहित सम्पूर्ण छायांकन कार्य २६ दिनमा सम्पन्न भएको छ’ लामाले फेसबुकमा लेखेका छन्, –‘फिल्मका कलाकार, प्राविधिक, निर्माता तथा गाउँलेहरुप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’ निर्देशक दीपेन्द्रले यसअघि ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’ गरी ३ वटा फिल्म निर्देशन गरिसकेका छन् ।

‘२ नम्बरी’ फिल्मको प्रस्तुतकर्ता किरण नेपाली हुन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी लगायतको शीर्ष भूमिका रहेको छ । दुई वर्ष अगाडि कोरोनाको कारण रोकिएको फिल्म कलाकार हेरफेर गरेर छायाङ्कन पुरा भएको हो । फिल्मका निर्माता गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ हुन् ।

मित्रताको कथामा बनेको फिल्म कात्तिक ४ गते रिलिज हुनेछ ।