अमेरिकामा रहेका प्रकाश–केकी भन्छन् : आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला



काठमाडौं । अमेरिकामा रहेका गायक प्रकाश सपूत र केकी अधिकारीले भोलि शुक्रबार हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मताधिकारको सही प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन् । गायक प्रकाश सांगीतिक कार्यक्रमको शिलशिलामा यतिबेला अमेरिकामा छन् भने अभिनेत्री केकी टेलिभिजन रियालिटी शोमा भाग लिन अमेरिका पुगेकी छिन् । अमेरिकामा रहेका कारण स्थानीय तह निर्वाचनमा मतदानबाट बञ्चित हुने भएका यी दुईले स्टाटसमार्फत मतदातालाई मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

गायक प्रकाशले निर्वाचन लोकतन्त्रको सुन्दरपक्ष भएको बताउँदै सबैलाई मतदान प्रक्रियामा भाग लिन आग्रह गरेका छन् । उनले आफ्नो मतको सदुपयोग हुने गरी मतदान गर्न पनि आग्रह गरेका छन् । प्रकाश लेख्छन्, – ‘निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले मतदान प्रक्रियामा भाग लिनुहोला । साथै सोँच विचार गरेर आफ्नो मतको सही सदुपयोग हुने गरी मतदान गर्नुहोला ।’

प्रकाशले मत पाउनु मन जित्नु भएको बताउँदै आफू र आफ्ना सिर्जनाले अमेरीकामा बस्ने नेपालीहरुको मन जितेको रै‘छ भन्ने अनुभूती गरिरहेको समेत उल्लेख गरेका छन् ।

यता अभिनत्री केकीले मताधिकारको प्रयोग गर्न नपाएकोमा आफूलाई चित्त दुःखेको बताएकी छिन् । ‘निर्वाचनको समयमा देश बाहिर हुनु र आफ्नो बहुमूल्य भोटको प्रयोग गर्न नपाउनुले पनि चित्त दुख्ने रहेछ । काम विशेषले बाहिर भएको कारणले मैले यसपटक मेरो मताधिकारको प्रयोग गर्न पाइन्’ केकीले फेसबुकमा लेखेकी छिन्, ‘तपाईंहरुले चाहीँ आफ्नो एक भोटको मूल्य पक्कै बुझ्नुभएकै छ । निर्वाचनमा सहभागी भइ आफ्नो मताधिकारको सही प्रयोग गर्नुहोला ।’ उनले शान्त, सुरक्षित अनि सु–ब्यवस्थित वातावरणमा निर्वाचन सम्पन्न हुन सकोस् भन्ने कामना समेत गरेकी छिन् ।