नेपालको पहिलो ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ प्रशारण सुरु



काठमाडौँ। ट्राभल रियालिटी सो ‘इम्याजिन नेपाल’ वैशाख २२ गते बिहीबारबाट प्रसारणमा आउने भएको छ । उक्त रियालिटी सोमा वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन ७ जना भिडियो निर्माता निर्देशक टिम बिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो तोकिएको प्रदेशका लागि उत्कृष्ट वृत्तचित्र (डकुमेन्ट्री ) बनाउन प्रतिस्पर्धा गर्न आफ्नो ७ जनाको टोलीसँग नेपालका ७ प्रदेशको भ्रमण गर्नेछन् र सोही ठाउँको वृत्तचित्र निर्माण गर्नेछन् । प्रदेश १ बाट टिम सहाना, मधेस प्रदेशबाट टिम घुमन्ते, बागमती प्रदेशबाट टिम मानसी, गण्डकी प्रदेशबाट टिम दर्शन , लुम्बिनी प्रदेशबाट टिम किशोर, कर्णाली प्रदेशबाट टिम अबिन र सुदूरपश्चिम प्रदेशबाट टिम नेपाल .फुड रहेका छन् ।

पहिलो एपिसोड वैशाख २२ गते बिहीबार राति ९ बजे कान्तिपुरमा र इम्याजिन नेपालको आधिकारिक यु-ट्युब च्यानलबाट १० बजे प्रसारण हुनेछ । यस ट्राभल रियालिटी सोमा भूषण दाहाल मुख्य निर्णायकका रूपमा रहेका छन् भने सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिडको रूपमा देखिँदैछन् । यात्राका रोमाञ्चक कथाहरू सँगै १६ फरक एपिसोड को रूपमा टेलिभिजन मार्फत प्रसारणमा गरिनेछ । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा लाखौँ मानिसहरूमा पुग्ने आशा राख्दै निर्माण टिमले यस सोलाई दर्शक माझ ल्याएका हुन् । नेपाललाई जनताले हेर्ने तरिकामा हाम्रो यात्राले पक्कै परिवर्तन गराउने टिमको अपेक्षा रहेको छ ।